करोडौं खर्चेर अमेरिका पुगेका ५ नेपालीलाई अमेरिकाले विमान चार्टर गरेर नेपाल फर्कायो - News site from Nepal

काठमाडौं :  अवैध रूपमा अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परेका पाँच नेपालीलाई  अमेरिकाले विमान नै चार्टर गरी नेपाल ल्याएर छाडिदिएको छ ।
अमेरिका–मेक्सिको सीमामा विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई जेल सजायपछि निष्कासन गरी नेपाल फर्काइएको हो।  उनीहरू रुकुम, दाङ, बाग्लुङ र नवलपरासीका छन्। बुधबार दिउँसो नेपाल अवतरण गराइएका उनीहरूलाई जहाजमा रहँदासम्म हत्कडी लगाइएको थियो। केहीले अमेरिका पुग्न एक करोड रुपैयाँसम्म खर्च गरेको बताएका छन्।
तर, घर जान उनीहरूसँग बसभाडासमेत थिएन। प्रहरीले नै उनीहरूलाई बसभाडा दिएर घर पठाएको छ।  अमेरिकाबाट उडेको १३ सिटे चार्टर विमानमा पाँच नेपाली र तीन पाकिस्तानी नागरिक थिए।
तीन पाकिस्तानीलाई उनीहरूको देशमा छाडेपछि नेपाली लिएर विमान काठमाडौं आएको हो। उनीहरूलाई लिन मानव बेचबिखन नियन्त्रण ब्युरोका प्रहरी अधिकारीहरू विमानस्थल पुगेका थिए भन्ने खबर  नयाँ पत्रिका दैनिकमा छ।
एक युवा विद्यार्थी भिसामा अमेरिका पुगेको खुलेको छ। रुकुमका एक युवाले अमेरिका जाँदा र त्यहाँ मुद्दा लड्दा करिब एक करोड सकिएको बताए। मुद्दा लडिरहेकै बेला अर्को व्यक्तिको नाममा ट्राभल डकुमेन्ट बनाएर नेपाल फकाईएको उनले बताए । अरु तीन युवा मानव तस्कर समूहको पछि लागेर मेक्सिको हुँदै अमेरिका छिर्न खोज्ने क्रममा पक्राउ परेका हुन्।
उनीहरूको प्रतिव्यक्ति करिब ५० लाख खर्च भएको छ। ‘मेक्सिकोमा पक्राउ परे सबै पैसा फिर्ता गर्छौ भनेका थिए,’ नेपाल फर्किएपछि बुधबार ब्यूरोका प्रहरीसँग उनीहरूले भने, ‘बोर्डरमा पक्राउ परेकाले सबै पैसा डुब्यो ।’ उनीहरू सात महिना लगाएर अमेरिकाको बोर्डरमा पुगेका थिए। उनीहरूसँग छलफल गरेर अनुसन्धान थालिएको ब्यूरोका डिएसपी नरहरी रेग्मीले बताए ।
युवाले अमेरिका लैजाने समूहबारे भने बताउन चाहेनन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!