नेकपा-राजपा तालमेलले समाजवादीलाई दबाब - News site from Nepal
नेकपा-राजपा तालमेलले समाजवादीलाई दबाब

 काठमाडौं : नाटकीय रुपमा विकसित राजनीतिसँगै समाजवादी पार्टीलाई सरकारबाट बाहिरन थप दबाब बढेको छ।
सत्तारुढ दल नेकपाले राष्ट्रिय सभाको चुनाव र राष्ट्रिय मुद्दामा सहकार्यका लागि मधेसवादी दल राजपासँग हात मिलाएपछि समाजवादीमाथि सरकारबाट बाहिरने नैतिक दबाब परेको समाचार कान्तिपुर दैनिकमा छ।
नेकपाले सरकारमा समाजवादी र चुनाव तथा राष्ट्रिय मुद्दामा राजपासँग सहकार्यको अनौठो नीति लिएको छ। जबकी प्रदेश–२ मा राजपा र समाजवादी पार्टी मिलेर सरकार चलाएका छन्।स्रोतका अनुसार समाजवादी पार्टी र राजपाबीच पार्टी एकताका लागि चरण–चरणमा वार्ता भइरहेका बेला नेकपा र राजपाबीचको सहकार्य अर्थपूर्ण छ। सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेकपा र राजपाबीचको सहमतिले समाजवादी पार्टी सरकारबाट बाहिरिने र राजपा सरकारमा सहभागी हुने संकेत गरे।
‘सहमति नेपाली राजनीतिको टर्निङ पोइन्ट हुन सक्छ। यसले राष्ट्र निर्माणको नयाँ कोर्स लिन सक्छ। खास गरेर नेपाल राष्ट्र निर्माण र विकासका लागि’ उनले भने। बुधवार साँझ नेकपा र राजपाबीच भएको दुई बुँदे सहमति अनुसार राष्ट्रिय सभाको चुनावमा प्रदेश २ का ४ सीट मध्ये २–२ सीटमा नेकपा र राजपाले एक अर्काका उम्मेदवारलाई सहयोग गर्ने छन्।
यसबाहेक नेकपा–राजपाबीच ‘राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित रुपमा छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अगाडि बढाउने’ अर्को सहमति भएको छ। नेकपा–राजपाबीचको सहमतिलाई लिएर समाजवादी पार्टीले उपयुक्त निर्णय लिने प्रारम्भिक प्रतिक्रिया दिएको छ। ‘हामीले राजपासँग पहिला पनि गठबन्धन गरेका थियौँ।
अहिले किन राजपा नेकपातिर गयो। हामी गहन छलफल गर्छौँ।’समाजवादी पार्टीकी नेतृ रेणु यादवले भनिन्, ‘भर्खर उहाँहरु (नेकपा–राजपा) बीचको सहमतिको विज्ञप्ती आएको छ। पार्टीभित्र छलफल गरेर हामी उचित निर्णय लिन्छौँ।’
मन्त्रिपरिषद् हेरफेरमा प्रधानमन्त्रीले छलफल नगरेको भन्दै असन्तुष्ट समाजवादी पार्टीले संविधान संशोधन लगायतका विषयमा नेकपासँग छलफल गर्न उच्चस्तरीय वार्ता टोली बनाएकै बेला नेकपाले राजपासँग सहकार्यको नीति लिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!