पर्वतका दृष्टिविहीन विद्यार्थीलाई कागजको अभाव - News site from Nepal
पर्वतका दृष्टिविहीन विद्यार्थीलाई कागजको अभाव
 पर्वत : पैयुँ गाउँपालिकास्थित सरौँखोलाकी कुसुम गौतम जिल्ला सदरमुकामस्थित कुस्मा नगरपालिका–६ मा रहेको शिवालय माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्छिन्। दृष्टिविहीन कुसुमलाई लेखिरहन मन पराउँछिन्। खाली समयमा केही न केही लेखिरहने चाहना भए पनि उनले पूरा गर्न सकेकी छैनन्।
म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरका भरत रिजाल पनि शिवालय मावि कै कक्षा ११ मा पढ्छन्। दृष्टिविहीन भरतलाई पनि कुसुमकै जस्तो समस्या छ। यस विद्यालयमा अध्ययनरत १८ जना दृष्टिविहीन विद्यार्थीहरूको प्रायः एउटै समस्या छ, आफुले चाहे जति लेख्न पाउँदैनन्।
ब्रेल लिपिमा लेख्ने कागज अभाव
दृष्टिविहीनहरुले ब्रेल लिपिमा लेख्छन्। ब्रेल लिपिमा लेख्नका लागि प्रयोग हुने कागजको एउटै पानाको मूल्य साढे दुई रुपैयाँ पर्छ। सोही विद्यालयमा कार्यरत दृष्टिविहीन शिक्षक हरिदत्त शर्माका अनुसार एकजना दृष्टिविहीन विद्यार्थीले एक दिनमा कम्तीमा ८० पाना लेख्छन्।ब्रेलका अक्षर ठूला हुने भएकाले केही शब्दहरुले नै पाना भरिन्छ। यस अनुसार एकजना विद्यार्थीले एक दिनमा २०० रुपैयाँको कागजमा लेख्छन्।
तर, उनीहरूसँग यति धेरै खर्च गर्ने हैसियत छैन। ‘केही कुरा लेख्न मन लागे पनि मन बाँध्नु परेको छ यिनीहरूले। लेखून् भने ब्रेल लेख्ने सिट सकिन्छ, किन्ने पैसा हुँदैन,’ शिक्षक शर्मा भन्छन्, ‘अपाङ्गता भएकाहरुलाई राज्यले गरेको लगानीको अवस्था के रहेछ? भन्ने गतिलो उदाहरण यो पनि एउटा हो।’ लेख्नका लागि प्रयोग हुने एउटा स्लेट एन्ड स्टाइलसको मूल्य पनि ७०० रुपैयाँ पर्ने विद्यार्थी बताउँछन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद अर्जुनप्रसाद जोशी, सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था प्लान नेपाल र कुस्मा नगरपालिका–३ दुर्लुङका प्रेम बिकले दुई वर्षअघि दृष्टिविहीन विद्यार्थीहरूलाई दुई लाख रुपैयाँ सहयोग गरेका थिए। अहिलेसम्म सोही रकमबाट उनीहरूका लागि आवश्यक खर्च व्यवस्थापन गरिँदै आइएको विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईँले बताए।
सरकारले दिन्छ चार हजार
सरकारले एक दृष्टिविहीन विद्यार्थीको लागि महिनाको चार हजार रुपैयाँका दरले १० महिना अनुदान आउने गरेको प्रधानाध्यापक चापागाईँले जानकारी दिए। त्यसमध्ये ५०० रुपैयाँ पकेट खर्च भनेर दिने गरिएको छ। बाँकी तीन हजार ५०० रुपैयाँले एक महिनाका लागि खाना, खाजा, स्टेशनरी, औषधि, लुगालगायतका आश्यकताहरु पूरा गर्नुपर्ने बाध्यता छ। ‘३५ सय रुपैयाँले के पुग्छ ? एक बोरा चामलकै मूल्य झन्डै दुई हजार पर्छ, सामान्य औषधि खानु परेमा पनि ५०० जान्छ,’ प्रधानाध्यापक चापागाईँले भने, ‘यिनीहरूलाई अहिलेसम्म दाताहरूकै भरमा राखिएको छ। बेलाबेलामा संस्था र व्यक्तिले दाल, चामल, तेललगायतका सामग्रीहरू सहयोग गरेर धानिएको छ।’
श्रोत कक्षा राख्न नै मान्दैनन् विद्यालय
शिवालय माविमा सञ्चालनमा रहेको दृष्टिविहीन श्रोत कक्षा दुई ठाउँबाट सरुवा भएर आएको हो।
यो श्रोत कक्षा सुरुमा २०५९ सालमा कुस्मा नगरपालिका–१० पिपलटारीमा रहेको पूर्णेश्वर माविमा स्थापना गरिएको थियो। तर, त्यसका लागि आवश्यक खर्चको व्यवस्थापन हुन नसक्दा पूर्णेश्वरको श्रोत कक्षा २०६५ सालमा जलजला गाउँपालिकाअन्तर्गत शालिजामा रहेको शालिजा मावि मा स¥यो। जिल्लाको विकट र चिसो क्षेत्र भएका कारण दृष्टिबिहीनहरुलाई आउजाउ गर्न समस्या भयो।|
यही कारण उक्त कक्षालाई २०७३ सालमा शिवालय माविमा सारिएको हो।
भौतिक संरचनाको अभाव
शिवालय माविमा रहेको श्रोत कक्षामा २४ जना दृष्टिविहीन विद्यार्थी छन्। तीमध्येका ६ जना आप्mनै घर वा आफन्तकोबाट आउजाउ गरेर पढ्छन् भने १८ जना छात्राबासमा बस्दै आएका छन्। छात्राबासको क्षमता १४ जनाको भए पनि १८ जना बस्नु परेको छ। बजेट र पूर्वाधारकै समस्याका कारण विभिन्न जिल्लाबाट भर्ना हुन आएका विद्यार्थीहरूलाई भर्ना नगरी फिर्ता गर्नुपरेको शिक्षक हरिदत्त शर्मा बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!