पर्वत– पर्वतको महाशीला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरिएको छ ।
बेरोजगार युवाहरुलाई कम्तीमा एक महिना रोजगार उपलव्ध गराउने सरकारको घोषणा अनुसार महाशीला गाउँपालिकाले चालु आर्थिक वर्षका लागि झण्डै १ सय ४ जना युवालाई रोजगार प्रदान गरेको छ । महाशीला गाउँपालिकाका ६ वटै वडामा प्रत्येकमा बढिमा २२ जनाको दरले १ सय ४ जनालाई रोजगारी प्रदान गरिएको महाशीला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान क्षेत्रीले जानकारी दिए ।
उहाँका अनुसार चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि आएको रु. १७ लाख रुपैया मध्ये ७० प्रतिशत रकम उनिहरुको तलब भत्तामा खर्चिने भएको छ भने ३० प्रतिशत रकम कामदारहरुका लागि आवश्यक सामाग्रीहरु खरिदमा खर्च गरिने भएको छ । ३० प्रतिशत रकम मजदुरका लागि पोशाक खरिद, गल, घन, गैची, बेल्चा, लगायतका सामानहरु खरिद गरेर हस्तान्तरण गरिएको क्षेत्रीले जानकारी दिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दै महाशीला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले श्रमको सम्मान गर्दै वेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने बताउनुभयो । महाशीलाले सुरु गरेको महाशीला विकास स्वयंसेवक कार्यक्रम जस्तै आज राज्यले सुरुवात गरेकोमा आफुलाई गर्व लागेको बताउँदै यसलाई निरन्तरता दिने बताए । काम सानोतिनो नभनी विदेशमा गएर गर्नुपर्ने काम यहि देशमा आफ्नै ठाउँमा गर्न पाउदा सबैले गर्वको महसुस गर्नुपर्ने अध्यक्ष पौडेलको भनाई थियो । यस कार्यक्रममा महाशिला गाउँपालिकाले महिलालाई प्राथमिकता दिएको जानकारी समेत दिएको छ ।
महाशिला गाउँपालिका वडा नं ५ स्थित लुंखूदेउराली बजारमा २२ जना युवालाई सडक संरक्षणका परिचालन गरेर कार्यक्रमको सुरुवात गरिएको हो । वडा नं ५ का वडाध्यक्ष जिवन विक्रम उचैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसानबहादुर क्षेत्री,सूचना प्रविधि अधिकृत शान्त पौडेल, सव इन्जिनियर रमाकान्त पौडेल, रमेश प्रसाद शर्मा लगायत जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
उनिहरुलाई सडक, पदमार्ग, नहर, कुलाहरु सफा गर्ने, मर्मत गर्ने लगायत बार्षिक बजेटमा तोकिएका कार्यक्रमहरुमै परिचालन गरिने समेत प्रमुख प्रशासकिय अधिकृत क्षेत्रीले जानकारी दिए । यस अधि कुश्मा र फलेवास नगरपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिएको थियो । महाशीलामा ९ सय ५ जना बेरोजगार युवायुवतीले रोजगारीका लागि आवेदन दिएका थिए ।






