पर्वतको मोदीबेणीधामबाट ठुलो मात्रामा शालिग्राम र दानपेटीका चोरी - News site from Nepal

पर्वत–ः पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा चिनिएको पर्वतको मोदीबेणीधामबाट शनिबार राती शालिग्राम शिलाहरु चोरी भएका छन् ।
मोदीवेणीधाममा रहेको नृसिंह मन्दिरमा रहेका झण्डै ५० ओटा शालिग्राममध्ये ४७ ओटा चोरी भएको नृसिंह मन्दीर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीले जानकारी दिनुभयो । मन्दिरमा रहेको मुख्य शालिग्राम सहित अरु साना शालिग्राम पनि चोरी भएका हुन् ।
अज्ञात समुहले मन्दीरको ढोका नै फुटाएर शालिग्राम शिला सहित दान पेटीका समेत लगेको पनि उहाँले बताउनुभयो । ‘दान पेटीकामा भने खास पैसा थिएन् ।’ बैरागीले भन्नुभयो, ‘शालिग्राम भने लगभग ७ सय बर्ष अगाडिका हुन् ।’ सबै शालिग्रामको तौल लगभग एक सय किलो हुने भएकोले यसमा एक जना मात्रै संलग्न नभएर गिरोहले नै चोरी गरेको हुन सक्ने अुनमान उहाँको रहेको छ ।
पूजाआजाका लागि बिहान ४ बजे पुजारी र भक्तजनहरु मन्दिरमा जाने क्रममा ढोका तोडेर शालिग्राम चोरी भएको थाहा भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले चोरी भएको स्थलको अवलोकनपछि प्रहरीले चोरी गर्नेको खोजी गरिरहेको बताउनुभयो ।
शालिग्राम शिला एउटाको यतिनै मूल्य पर्छ भन्ने एकिन छैन् । तर मुस्ताङको मुक्तिनाथमा शालिग्राम बिक्री गर्ने व्यवसायीहरुले एउटा शिलालाई १० हजार रुपैयाँ सम्म बिक्री गर्ने गरेको पाईन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!