पर्वत : आजभोली जन्मदिन मनाउने नाममा दिइने पार्टी र विशेष ‘टिट’ मा धेरैले हजारौँ रुपैयाँ खर्च गर्ने गरेका छन्।
जन्मदिनमा पार्टीको नाममा ठूलो धनराशि खर्च गर्दै महँगा होटलमा साथीभाइ जम्मा गरेर केक काट्नेदेखि रमाउने चलन छ। तर पर्वतको जलजला गाउँपालिका प्रमुख तथा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले भने अनाथालयलाई व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नुभन्दा त्यो रकम अप्ठ्यारोमा परेकाहरूलाई प्रदान गर्दा उनीहरूको उद्धार र आफलाई धर्म प्राप्त हुने भन्दै मल्लले बागलुङमा रहेको मानव सेवा आश्रमलाई नगद प्रदान गरेका हुन्।
आफन्त तथा परिवारजन नभएका अनाथ नागरिकलाई संरक्षण गर्ने दायित्व राज्यको भएपनि संस्थाले जिम्मा लिएकोमा गाउँपालिका प्रमुख मल्लले धन्यबाद पनि दिएका छन्। गाउँपालिका प्रमुख मल्लले २५ जनालाई जनही दुई हजार पर्ने गरी ५० हजार रुपैयाँ संस्थालाई एकमुष्ठ सहयोग गरेका हुन्।
सहयोग हस्तान्त्रणपछि बोल्दै मल्लले आगामी दिनमा समेत यस्ता संघसंस्थालाई आफ्नो निरन्तर सहयोग रहने पनि बताए। आश्रममा परिवार तथा आफन्तजन नभएका र अलपत्र परेका वृद्धवृद्धा तथा बालबालिकालाई संरक्षण दिँदै आएको छ। संस्थाले विशेष गरी मानसिक सन्तुलन गुमाएर अलपत्र परेका, सडक बालबालिकालाई लगेर हेरचाह गर्ने गरेको जनाएको छ। अहिले उक्त संस्थामा २५ जना आश्रित भएका छन्।