पर्वत– कुश्मा नगरपालिकालाई समृद्ध नगरको रुपमा विकास गर्नका लागि नेकपाका नेताहरु छलफलमा जुटेका छन् ।
नेकपा कुश्मा नगर कमिटिको आयोजनामा शनिवार विहान राउण्ड टेबलमा छलफल गरेका हुन् । संघीय सरकारले बजेट ल्याईसकेको छ भने प्रदेश र स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट तथा योजनाहरु सार्वजनिक सार्वजनिक गर्ने तयारी गरेका बेला नेकपा नेताहरु छलफलमा जुटेका हुन् ।
सो अवसरमा उनिहरुले कुश्मा नगरपालिकाका चालु आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय तहबाट बिनीयोजित बजेट तथा योजनाहरुको कार्यान्वयको अवस्थाको समिक्षा गर्दै आगामी आर्थिक वर्षका लागि सुझाव दिने निर्णय गरेको थियो । नगरका सवैजसो वडामा कालोपत्रे सडकको पहुँच, एक घर एक खानेपानी धारा, सिंचाईका योजनाहरु समयमै सम्पन्न गर्न, विद्युतको क्षेत्रमा काठेपोल विस्थापित गर्ने लगायत मोटरेबल पुल र पर्यटन पूर्वाधारको समुचित विकासका लागि सुझाव दिने बारेमा छलफल भएको छ ।
अहिले राजनीतिक प्रतिस्पर्धा भन्दा पनि विकास निर्माण र समृद्धिको युग भएकाले कसरी भौतिक, आर्थिक, सामाजिक विकास गर्न सकिन्छ भन्ने सन्दर्भमा नेताहरुले आ–आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमा नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले कुश्मा नगरपालिकाले विकासको क्षेत्रमा फड्को मार्न नसकेको औल्याउँदै जनप्रतिनिधिहरुलाई दिर्घकालीन महत्वका योजना बनाएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचन अघि नेकपाले सार्वजनिक गरेको घोषणा पत्रको मोडेलमा जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य मनरुपा सुवेदी, नेकपाका जिल्ला नेता गोविन्द पहाडी, कुश्मा नगरपालिकाका सवैजसो वडाका वडा अध्यक्षहरु, तथा अन्य नेताहरुले आगामी आर्थिक वर्षको बजेट, निति तथा कार्यक्रममा समावेश गर्नुपर्ने योजना र कार्यक्रमका बारेमा सुझाव तथा प्रतिकृया दिएका थिए । कार्यक्रम नेकपा कुश्मा नगरकमिटिका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो अवसरमा सञ्चालित योजनाहरुलाई समयमै सम्पन्न गर्न निरिक्षण, अनुगमन र गुणस्तरीय कामका लागि खबरदारि गर्ने निर्णय समेत भएको छ ।






