पर्वतमा प्रथम सडक महोत्सवमा मौलिक खाना - News site from Nepal
पर्वतमा प्रथम सडक महोत्सवमा मौलिक खाना

पर्वत — नयाँ वर्षमा आफ्नै परम्परागत मौलिक खाना र स्थानीय संस्कृतिअनुसार मनाउन पर्वतमा प्रथम सडक खाना महोत्सव आयोजना गरिएको छ । पर्वत जेसिजले नेपाली नयाँ वर्षको महत्त्व बढाइराख्न पहिलो पटक सडक महोत्सवको आयोजना गरेको हो ।
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटक आकर्षित गर्ने हो भने मौलिक संस्कार र खानाको अस्तित्व जोगाइराख्न आवश्यक भएको बताए । उनले विदेशीले बहुराष्ट्रिय ब्रान्डका खाना र पेयपदार्थभन्दा यहाँको मौलिक खानाको स्वाद रुचाउने बताए ।
‘विदेशीले एउटा पाउरोटी र जामको कति प्रशंसा गर्छन्,’ उनले भने, ‘हामीले यहाँको ढिँडो, मकैको आटो, मोहीलगायत स्थानीय परिकार दिऊँ त । उनिहरू कति लोभिन्छन् ।’ चार दशकअघि सुरु भएको पोखराको पर्यटन व्यवसाय अहिले मुलुककै राजधानीका रूपमा विकास हुनुमा त्यहाँको मौलिकपन नै प्रमुख भएको उनको दाबी छ । मन्त्री लम्सालले प्रदेश सरकारले यो वर्षलाई आन्तरिक पर्यटन वर्षका रूपमा मनाइरहेको उल्लेख गर्दै प्रदेशमा ग्रामीण पर्यटनलाई सघाउन होमस्टेलाई अनुदान दिएको दाबी गरे ।
‘हामीले होमस्टेलाई अनुदान त्यसै दिएका होइनौं,’ उनले भने, ‘ग्रामीण पर्यटन र गाउँघरका संस्कारको प्रचार गराउन त्यसो गरिएको हो । मुख्यमन्त्रीले पनि त्यो कुरामा धेरै चासो राख्नुभएको छ ।’ मन्त्री लम्सालले पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल २०२० भित्रै परीक्षण उडान हुने गरी काम भइरहेको बताए । उनले २०२० मा परीक्षण उडान सुरु भएको विमानस्थलबाट २०२१ देखि दैनिक २० वटासम्म अन्तर्राष्ट्रिय उडान हुने र त्यसपछि प्रदेशका ११ वटै जिल्लामा पर्यटन उद्योगले फड्को मार्ने दाबी गरे ।
कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले पछिल्लो समय लामा र अग्ला पुलका साथै यान्त्रिक पुलका कारण बढेको आन्तरिक पर्यटकको चापले कुश्माको रौनक थपेको बताए । उनले धार्मिक र अग्ला पुलका कारण चिनिएको कुश्मालाई पुल पर्यटनमा विकास गराउन नगरपालिकाले पनि उल्लेख्य भूमिका खेलेको बताए । मौलिक संस्कृति झल्किने मेलामहोत्सवले यहाँको प्राकृतिक तथा मानवनिर्मित पर्यटकीय पूर्वाधारको प्रचारमा सघाउने बताए ।
महोत्सव सोमबारसम्म चल्नेछ । जेसिजका अध्यक्ष मोहन आचार्यले अंग्रेजी संस्कृतीका कारण नेपाली नयाँ वर्ष मनाउने प्रचलनमा कमी आउँदै जान थालेपछि आफ्नै संस्कृतिमा रमाउने गरी नयाँ वर्षको स्वागत गर्न महोत्सवको आयोजना गरिएको बताए । २४ लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई विशेषगरी धौलागिरीका लोकसंस्कृति, जातजाती र स्थानीय परिकारको प्रचार गरिने आयोजकले बताए ।

ekantipur.com

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!