
पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटकी मृगौलापिडित महिलालाई रोजगारीका लागि अमेरिका पुगेका प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् ।
दुवै मृगौलामा समस्या देखिएपछि पिडित बनेकी स्थानीय शंकरराम परियारकी २२ वर्षिया श्रीमती सुस्मिता परियारको उपचारका लागि रु ३ लाख ३६ हजार १ सय ८ रुपैया सहयोग गरेका हुन् । अमेरिकामा रहेका स्थानीय रवि रेग्मी र किसान पुरीको सक्रियतामा विभिन्न ठाउँका ४८ जना व्यक्तिहरुवाट संकलित उक्त रकम आइतवार विहान पिडित परिवारको घरमै पुगेर हस्तान्तरण गरिएको छ । उक्त रकम प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले पिडित महिलालाई हस्तान्तरण गर्नुभएको हो ।
आर्थिक अवस्था कमजोर रहेको उक्त परिवारमा मृगौला पडितका लागि समस्या भएपछि प्रवासीहरुले आर्थिक सहयोग गरेका हुन् । पिडित महिलाका श्रीमान गाउँमै सामान्य कृषि पेशामा संलग्न छन् भने उनको पाँच महिनाको सन्तान समेत रहेको छ ।
महिलाको अहिले गण्डकी अस्पताल पोखरामा उपचार भैरहेको छ । प्रत्येक १५ दिनमा स्वास्थ्य परिक्षण गराउँदै आएकी पिडित महिलाको उपचारका लागि १२ लाख भन्दा बढि खर्च हुने भएपछि आर्थिक समस्याले उनि उपचार गर्न सकेकि थिईनन् । अन्य आम्दानीको श्रोत नहुँदा गत भदौदेखिनै मृगौलामा समस्या देखिए पनि उपचार गर्न नसकेको पिडित महिलाका श्रीमान शंकररामले बताउनुभयो । उहाँले विभिन्न क्षेत्रवाट आर्थिक सहयोग भएमा उपचार गराउन सहज हुने अन्यथा पिडित भएरै बस्नुको विकल्प नरहेको बताउनुभयो ।
सोहि अवसरमा कुश्मा नगरपालिका वडा नं. रियाले बस्ने सिता क्षेत्री, उहाँका छोरा राजु क्षेत्री, क्षेत्रबहादुर क्षेत्री र रञ्जिता क्षेत्रीको परिवारले पनि दश हजार रुपैया सहयोग गरेको छ । त्यस्तै एशियन लाईफ इन्सुरेन्स कम्पनीका शाखा प्रमुख तिलकराम लामिछानेल पनि २ हजार सहयोग गर्नुभएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा सांसद गिरीले पिडित महिलाको स्वास्थ्यलाभको कामना गर्दै सहयोगी प्रवासीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय राज्यले पनि विभिन्न रोगका बिरामीहरुको निशुल्क उपचार गर्ने सुविधा दिँदै आएकोले पिडित महिलाको उपचारका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले विभिन्न निकायहरुलाई महिलाको मृगौलाको उपचारका लागि सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।
कार्यक्रममा जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी, कुश्मा नगरपालिका वडा नं. २ का वडा सदस्य दलबहादुर रेग्मी, नेकपा वडा कमिटि अध्यक्ष कृष्णप्रसाद पौडेल, पूर्व प्रदेश युवा विभागका सदस्य महेन्द्र जोशी, तिलकराज लामिछाने, युवा नेत्र छत्रबहादुर रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
पूर्व गाविस अध्यक्षम मिनबहादुर रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेकपाका नेता तथा स्थानीय समाजसेवी शेषराज रेग्मीले गर्नुभएको थियो ।