कांग्रेसमा गुटको सक्रियता : बुढानीलकण्ठमा देउवा, चाक्सीबारीमा पौडेल - News site from Nepal

काठमाडौं : बिहीबार असन्तुष्ट समूहको बहिस्कारका बाबजुत सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेश गरेपछि कांग्रेसभित्रको गुटगत विवाद थप चर्किएको छ।
संस्थापन पक्ष र अन्य समूह आ–आफ्नो आगामी रणनीति बनाउन शुक्रबार गुटगत बैठकमा व्यस्त भए। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो उनीनिकट नेताको अनौपचारिक बैठक बसेको थियो भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा साँझ बसेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।
१४ औं महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको मागका बारेमा संस्थापन पक्षीय नेताबीच छलफल भएको थियो। बिहीबारको केन्द्रीय समिति बैठकमा महाधिवेशको विषय प्रस्तावमा रुपमा पेश नभएको भन्दै पौडेल समूहले बैठक बहिस्कार गरेको थियो।
देउवा समूहले भने संघीयता अनुसार पार्टीको अन्तरिम संरचना निर्माण सम्पन्न भइनसकेकाले महाधिवेशनको मिति घोषणा सम्भव नभएको स्पष्ट पारेको छ। शुक्रबारको गुट भेलामा सभापति देउवाले आइतबार बस्ने केन्द्रीय समिति बैठक अघि सहमतिको प्रयास गर्ने तर सहमतिका नाममा अब पर्खेर नबस्ने गुटका नेतालाई बताएका थिए।
‘सहमतिमै पार्टीका निर्णय गर्ने पक्षमा सभापति हुनुहुन्छ, अझै समय छ, सहमतिका लागि प्रयास हुन्छ,’ बैठकमा सहभागी सभापति देउवा निकट एक नेताले अन्नपूर्णसँग भने, ‘तर सहमतिका नाममा समय घर्किन नदिने मनसायमा उहाँ हुनुहुन्छ। केन्द्रीय समितिमा पेश भएको प्रस्ताव अनुसार संख्या बढाएर विभाग गठन चाँडै हुन्छन्।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!