आजदेखि सोह्र श्राद्ध सुरु, पक्षभर गरिँदै पितृको सम्झना - News site from Nepal
आजदेखि सोह्र श्राद्ध सुरु, पक्षभर गरिँदै पितृको सम्झना

 काठमाडौं : आजदेखि सोह्र श्राद्ध सुरु भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्धअन्तर्गत पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ।
आज बिहान ९ बजेसम्म पूर्णिमा र त्यसपछि प्रतिपदा तिथि लाग्ने भएकाले आजैदेखि सोह्रश्राद्ध सुरु भएको हो। आजदेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो।  सक्नेले पितृ पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ।
नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले जानकारी दिए।  चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परानुसार दशैं सुरु हुनुअघि सोह्रश्राद्ध गर्ने गरिएको हो। सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। पितृ पक्षमा अपराह्नको समयमा श्राद्ध गर्नुपर्छ।
धेरै घरमा एकै ब्राह्मणले श्राद्ध गर्ने र बिहानैदेखि सोह्रश्राद्ध गर्नु शास्त्रविरुद्ध रहेको अध्यक्ष गौतमले बताउनुभयो। एक घरमा श्राद्धको टीका लगाएको ब्राह्मणले अर्को घरमा लगाउनु हुँदैन र अर्को टीका लगाएको ब्राह्मण देखे पितृले श्राप दिन्छन् भन्ने मान्यता छ।
सोह्रश्राद्धका अवसरमा काठमाडौँ उपत्यकाको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती उत्तरगया,  चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धाभावकासाथ श्राद्ध गर्नेको घुइँचो लाग्ने गर्दछ। पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादशैँ शुरु हुन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!