पर्वत– गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्साल सम्मानित हुनुभएको छ ।
पर्वतको एकमात्र संस्कृत विद्यालय गुप्तेश्वर वेद वेदाङ्ग संस्कृत पाठशालाको समग्र विकास र उन्नयनका लागि महत्वपुर्ण सहयोग गर्दै आउनुभएको भन्दै मन्त्री लम्साललाई सम्मान गरेको हो । मन्त्री लम्सालले पाठशालालाई निरन्तर संचालन गर्नका लागि शिक्षकको व्यवस्थापन, पाठशाला वरीपरी धार्मिक महत्वका विरुवाहरु रोप्नका लागि आवश्यक सहयोग र सहजीकरण गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै पर्यटन मन्त्री लम्सालले धार्मिक तथा साँस्कृतिक सम्पदाहरु हाम्रा अमुल्य सम्पत्ति हुन भन्दै यिनीहरुको संरक्षण र सम्वद्र्धनबाट पनि मुलुकलाई समृद्धिको दिशातर्फ लैजान सकिने बताउनुभयो । उहाँले पर्यटनको प्रचुर सम्भावना बोकेका गण्डकी प्रदेशका धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार निर्माणको काम भैरहेको बताउँदै यि क्षेत्रमा बढि भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना रहेको बताउनुभयो । उहाँले सन् २०१९ आन्तरिक वर्षको रुपमा मनाइरहेको बताउँदै २० लाख पर्यटन भित्र्याउनेगरी संरचनाहरु बनाउने काम भैरहेको पनि बताउनुभयो ।
अर्कोतर्फ मन्त्री लम्सालले बढ्दो पर्यटकको आवागमनलाई लक्षिण गर्दैै तीन सय नयाँ होमस्टे संचालन गर्न लागिको बताउँदै यसका लागि तीस करोड रुपैया मन्त्रालयले वितरण गरिसकेको जानकारी पनि दिनुभयो । उहाँले पर्वतमा मात्र चार करोड २० लाख रुपैया आफुले विभिन्न ४२ वटा होमस्टेलाई वितरण गरेको बताउनुभयो । उहाँले गण्डकी सरकार मुलुककै नमुनाको रुपमा अघि बढेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा गुप्तेश्वर पाठशालाका प्राचार्य पद्मराज उपाध्यायले पाठशालाको बस्तुस्थितको बारेमा जानकारी दिनुभएको थियो भने गायन्त्री मन्दिर तथा पाठशालाका अध्यक्ष खडानन्द आचार्यले स्वागत तथा सम्मान गर्दै पाठशालाको नियमित संचालन र स्तरोन्नतीका लागि आवश्यक सहयोग गर्न मन्त्री लम्सालको ध्यानाकर्षण गराउनुभएको थियो ।
कार्यक्रममा प्रदेश सांसद सावित्रि राना मगर, बागलुङ नगरपालिकाका मेयर जन पौडेल लगायतको विशेष उपस्थिति रहेको थियो ।






