गण्डकी प्रदेशको नमुना निर्णय गर्भवती र सुत्केरी महिलाको सुरक्षाका लागि ‘एयर लिफ्टिङ’ सुविधा - News site from Nepal

पोखरा– गर्भवती र सुत्केरी महिलाको ज्यानै जोखिममा परेको खण्डमा गण्डकी प्रदेश सरकारले ‘एयर लिफ्टिङ’ गरेर सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पु¥याउने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज पोखरामा बसेको बैठकले सो अवस्थाका महिलालाई अस्पतालसम्म पु¥याउने खर्च सरकारले व्यहोर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जानकारी दिनुभयो ।
उहाँका अनुसार गर्भवती र सुत्केरी महिलाको ज्यान बचाउनेसम्बन्धीको कार्यविधिसमेत आजैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । ‘गर्भवती र सुत्केरी महिलालाई जटिलता व्यवस्थापनका लागि सुविधा सम्पन्न अस्तालमा एयरलिफ्ट गर्ने, कार्यविधि’ अनुसारसम्बन्धी स्वास्थ्य संस्थामा गएका गर्भवती र सुत्केरी महिलालाई थप उपचारका लागि अन्यत्रै पठाउने गरेमा सम्बन्धित स्वास्थ्य संस्थाले प्रदेशस्तरमा गठित सिफारिश समितिलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।
“हामीले जुन उपलब्ध हुन्छ, सोही हेलिकप्टरबाट अस्पतालसम्म उपचारका लागि ल्याउने व्यवस्था गर्छौ”, मन्त्री चुमानले भन्नुभयो, “गर्भवती हुनका लागि उपचारको र यातायात अभावका कारण महिलाले ज्यान गुमाउने अवस्थाको अन्त्य गर्नका लागि मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।”
आर्थिक सहयोग
गण्डकी प्रदेश सरकारको आजै बसेको बैठकले विभिन्न सङ्घसंस्थालाई आठ वटा शीर्षकमा रु ८९ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासङ्घको पोखरामा फागुन ९ र १० गते हुने साधारणसभा एवं विधान अधिवेशन सम्पन्न गर्नका लािग प्रदेश सरकारले रु २३ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको मन्त्री चुमानले जानकारी दिनुभयो ।
यस्तै नवलपुरस्थित धार्मिक पर्यटकीय क्षेत्र गजेन्द्रमोक्ष धामलाई रु १० लाख, सहारा एकेडेमी, अन्तर्राष्ट्रिय म्याराथुन दौड र गण्डकी बहिरा सङ्घलाई रु दुई÷दुई लाख, पोखरा थिएटरलाई रु १५ लाख र दृष्टिविहीन क्रिकेट खेलाडीलाई सम्मान गर्न पाँच लाख रुपैयाँ दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।
मन्त्रिपरिषद्ले प्रदेशसभा सदस्य स्व टेकबहादुर घर्तीमगरको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । बाग्लुङ क्षेत्र नं २ ख का सांसद घर्तीमगर राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । कलेजोको रोगबाट पीडित घर्तीमगरको गत मङ्सिर २७ गते उपचारका क्रममा दिल्लीको अपोलो अस्पतालमा निधन भएको थियो । मन्त्रिपरिषद्को आजै बसेको बैठकले प्रदेश नीति तथा योजना आयोगमा एक जना महिला सदस्य थप्ने निर्णयअनुसार डा भीमा ढुङ्गाना नियुक्त हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!