उत्कृष्ट करदाता सम्मान गर्दै फलेवास, कर नगरवासीकै नाममा खर्च गर्छौ ः मेयर शर्मा - News site from Nepal

पर्वत- पर्वतको फलेवास नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा उत्कृष्ठ कर तिर्ने करदाताहरुलाई सम्मान गरेको छ । उत्कृष्ठ करदाताको रुपमा सबैभन्दा बढि कर तिरेर सहयोग गर्ने ६ जना करदातालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा फलेवास नगरपालिका १ कार्कीनेटाका गौकुमारी श्रेष्ठ, सुर्यलाल श्रेष्ठ र बाबुराम शर्मा रहनुभएको छ । त्यस्तै फलेवास ५ खानीगाउँका देवका सुबेदी, ढकाराम सुबेदी र नरबहादुर क्षेत्री रहनुभएको छ । नगरपालिकाले करदाताहरुलाई दोसल्ला र कदरपत्रले सम्मान गरेको हो । समयमै र तोकिएको कर तिर्नुपर्छ भन्ने नागरिकहरुमा जागरुकता ल्याउन सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पदमपाणी शर्माले कर संकलन मात्रै आफुहरुको प्राथमिकता नभई नागरिकहरुलाई कर लिएपछि सुविधा पनि दिनुपर्छ भन्नेमा केन्द्रित भएको बताउनुभयो । नगरपालिकाले नगरपालिकाका सबै वडामा उद्योग, व्यवसाय, लघु तथा घरेलु उद्योग, कृषि, पशुपालन व्यवसाय सञ्चालनका लागि प्रेरित गरिरहेको बताउनुभयो । नागरिकहरु व्यवसायमा मजवुत रुपमा लागेमा नगरवासीहरु पनि आत्मानिर्भर हुने र राज्यलाई दिने कर पनि बढ्ने भएकाले यसप्रति नगरकार्यपालिका योजनाबद्ध रुपमा लागेको शर्माले बताउनुभयो । उहाँले आफुहरुले नगरमा देशभरिकै स्थानीय तहभन्दा निकै कम कर लिने गरेको पनि शर्माले दावी गर्नुभयो ।

करप्रति नागरिकहरुको उत्साह बढाउन नगरपालिकाले कर सचेतना कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ । नगरपालिकाले १२ दिनसम्म कर प्रशिक्षण सञ्चालन गर्न लागेको प्रमुख प्रसासकिय अधिकृत मोतीराम सापकोटाले जानकारी दिनुभयो । उहाँले करले नभई रहरले कर तिर्ने बानी बसाल्नुपर्ने आवश्यकता महसुस गरि कर प्रशिक्षण सञ्चालन गर्न लागेको बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख एवं राजस्व परामर्श समितिका संयोजक मन्जु अधिकारीले विकसित भएका मुलुकहरु पनि करकै कारण विकसित भएको उल्लेख गर्दै कर तिरे देश समृद्ध बन्ने बताउनुभयो । उहाँले फलेवास नगरपालिकाका सबै वडाका बासिन्दाहरु करबारे सचेत रहेको बताउनुभयो । कार्यक्रममा सम्मानित करदाताहरुले पनि बोल्दै नगरलाई कर तिर्नु सबैको दायित्व रहेको बताउनुभएको थियो । कार्यक्रममा उत्कृष्ट करदाताको रुपमा बाबुराम शर्मा र ढाकाराम सुबेदीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको स्वागत योजना व्यवस्थापक देबिप्रसाद तिमिल्सीनाले गर्नुभएको थियो भने सञ्चालन नगरपालिकाका कर्मचारी रमेश शर्मा पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!