
पर्वत- यहाँको एक गाउँमा पहिलोपटक संचालन गरिएको निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ६ सय भन्दा बढिको स्वास्थ्य परिक्षण गरिएको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुर स्थित पातीचौरमा शनिवार संचालित एक दिने शिविरमा ६ सय १२ जनाको स्वास्थ्य परिक्षण गरिएको हो । रि–लाईफ आयुर्वेद हस्पिटल प्रालि पोखराको सहयोग र पार्वती युवा क्लव पातीचौरको आयोजनामा शिविर संचालन गरिएको हो ।
शिविरमा पायल्स, फिस्टुला, फिसर, नशा तथा बाथ रोग, प्यारालाईसि, जण्डिस, स्त्री रोगका बिरामीहरुको परिक्षण गरिएको आयोजक पार्वती युवा क्लवका अध्यक्ष समिर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा ग्याष्ट्रिक र स्त्री रोग सम्वन्धि बिरामीहरुको बढि भिड लागेको थियो । उपचार गर्न आउनेहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको छ । एलोपेथिक पद्धतिवाट उपचार गराउने परम्परा बढ्दै गएका बेला आयुर्वेद तर्फ पनि नागरिकहरुको उत्तिकै विश्वास रहेको मल्लले जानकारी दिनुभयो ।
बरिष्ठ आयुर्वेदिक डाक्टरहरुको उपस्थिति रहेको शिविरमा उपचार गराउनका लागि मोदी गाउँपालिकाका विभिन्न वडाका साथै कुश्मा नगरपालिका र कास्कीको अन्नपुर्ण गाउँपालिकाबाट समेत बिरामीहरु सहभागि भएका थिए ।
शिविरमा बरिष्ठ आयुर्वेद विशेषज्ञ डा. ओमप्रकाश कलोनी, डाक्टर सुजना शर्मा, डा.दिपक भुसाल, ल्याव टेक्नोलोजिष्ट डा. नरेशप्रसाद पाण्डे, फिजियोथेरापिष्ट डा.दिनेश गुरुङ्ग लगायतका चिकित्सवकबाट स्वास्थ्य परिक्षण गरिएको थियो ।
उक्त शिविरको उद्घाटन गर्दै मोदी गाउँपालिकाकी उपाध्यक्ष सेती महतले गाउँपालिकाका नागरिकरुलाई स्वास्थ्य सेवाको पुहँच पु¥याउने उद्धेश्यले सामुदायिक अस्पताल संचालन गर्न लागिएको बताउनुभयो । उहाँले गाउँपालिकाको आन्तरिक राजश्वबाट निकट भविष्यमै सामुदायिक अस्पताल संचालन गर्ने तयारी भएको बताउनुभयो ।