पर्वत ः– मुुलुकमा रहेका तीनै तहका सरकारका बिचमा समन्वय नहुँदा जिल्लामा बिकासले गति लिन नसकेको धारणा पर्वतमा आयोजित एक कार्यक्रमका सहभागीहरुले ब्यक्त गरेका छन ।
जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको आर्थिक बर्ष ०७५÷०७६ को बार्षिक समिक्षा कार्यक्रममा बोल्ने बक्ताहरुले संघ, प्रदेश र स्थानिय तहका बिचमा समन्वयको अभाब खड्किएकाले जनअपेक्षा अनुसारका काम हुन नसकेको बताएका हुन् । कार्यक्रमका सहभागीले स्थानीय तहका जनप्रतिनिधिहरु र स्थानीय तहका कामहरु जवाफदेही र पारदर्शी हुनुपर्ने कुरामा जोड दिइएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका साँसद पदम गिरीले जनप्रतिनिधिहरु जवाफदेही र पारदर्शी नभए सम्म बिकास निमार्णले गति लिन नसक्ने बताउनुभयो । सांसद गिरीले स्थानीयका मात्रै होइन प्रदेश र संघका जनप्रतिनिधिहरु समेत जनताप्रति उत्तरदायी र विकास प्रति प्रतिवद्ध हुन आवश्यक छ भन्नुभयो । ‘जनता प्रति उत्तरदायी नहुँदा जनप्रतिनिधी र बिकास निर्माणको काम समेत उद्देश्यहिन बन्न सक्छ’ उहाँले भन्नुभयो ‘जनउत्तरदायी शासन र बिकास अहिलेको आबश्यकता हो, यसले मात्रै देश सम्बृद्ध हुन्छ’
गण्डकी प्रदेशसभा सदस्य जुनादेबी नेपालीले प्रदेशका धेरै योजनाहरुमा स्थानिय तहले सहकार्य र साझेदारी गर्न सक्ने उल्लेख गर्दै दुई तहका बिचमा समन्वय र सहकार्यबाट धेरै काम अघि बढाउन सकिन्छ भन्नुभयो ।
नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसालले जनप्रतिनिधि र समन्वय समितिले गरेका निणर्यहरु कार्यान्वयन गर्दा मात्रै जनअपेक्षा पुरा हुन्छ भन्नुभयो । उहाँले तीन तहका सरकारको समन्वयको अभावमा योजनाहरुमा दोहोरोपना आउने खतरा औल्याउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले स्थानीय तहहरुका साझा योजनाहरु पहिचान गर्दै संघ र प्रदेशसंग समन्वय गर्न जरुरी छ भन्नुभयो । उहाँले अहिले पनि स्थानीय तहले माथिल्ला तहहरुसँग समन्वय गर्न नचाहेको र आफुँलाई नै सर्बेसर्वा ठान्दा धेरै कुरा बिग्रएका छन भन्नुभयो ।
फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले माथिल्ला तहरुले कार्यक्रम लाद्ने तर स्रोत र जनशक्ति स्थानीय तहमा पठाउन नखोज्नु संघीयताको मर्म बिपरित हो भन्नुभयो । उहाँले संघीयताको मर्म अनुसार काम गर्ने हो भने स्थानीय तहमा जनशक्ति, बजेट बढीभन्दा बढी पठाउन जरुरी छ भन्नुभयो ।
कार्यक्रममा जलजलाका अध्यक्ष यामबहादुर मल्ल, मोदीका अध्यक्ष प्रेम पौडेल, विहादीका अध्यक्ष कमल भुसाल लगायत सातै स्थानीय तहको सहभागिता थियो ।
कार्यक्रममा पर्वतका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिकांश स्थानीय तहका प्रस्तुतीमा तीनै तहका सरकारका बिचमा समन्वय हुन नसकेको धारणा राखेका थिए । स्पष्ट निति नबन्दा शिक्षा, स्वास्थ्य, कृषि, पशुसेवाका शाखाहरुमा काम सम्पादन गर्न नसकेको अधिकृतहरुको प्रस्तुतीमा उल्लेख छ ।
स्थानीय तहहरुले कर्मचारी अभावमा काम गर्न नसकेको, बजेट पुर्णरुपमा प्राप्त नहुँदा कामको राम्रो प्रभाव जनताका बिचमा राख्न नसकेको लगायतका समस्याहरु राखेका थिए । अधिकाशंले प्राप्त बजेट पुर्णरुपमा उपयोग गर्न कठिनाई भएको पनि बताएका छन् ।






