पर्वत– पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. १० कुर्घा स्थित नुवाखर्कमा निर्माण भएको कालीका भगवतीको मन्दिर उद्घाटन तथा मुर्ति प्रतिस्थापन गरिएको छ ।
गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले नवदुर्गाको अवसर पारेर एक समारोहका बीच मन्दिरको उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै मन्त्री लम्सालले कला संस्कृति र धार्मिक स्थलहरुको विकासबाट नेपालीहरुको पहिचान र सम्भयताको जगेर्ना गर्न सकिने बताउनुभयो ।
उहाँले धर्म संस्कृतिले हामीलाई अनुशासन र सत्मार्गका हिड्का लागि प्रेरणा दिने बताउँदै मन्त्री लम्सालले यस्ता कला संस्कृति रिती रिवाजको संरक्षणबाट नेपालको छुट्टै पहिचान कायम भएको बताउनुभयो । उहाँले यस्ता सम्पदाहरुले पनि मुलुकमा बाह्य पर्यटकहरुलाई भित्र्याउन महत्वपुर्ण भूमिका खेल्ने बताउँदै गण्डकी प्रदेशले यस्ता सम्पदाहरुको संरक्षणका लागि अभियानकै रुपमा लागेको बताउनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले विकास निर्माणमा एकजुट भएर लाग्न स्थानीयवासीहरुलाई आग्रह गर्नुभयो । नगरपालिकाले नगरका ११ वटै वडाको आर्थिक, भौतीक र मानविय विकासका लागि गुरुयोजना नै बनाएर अघि बढेको बताउँदै विकास निर्माणका काममा निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय फलेवासकी संचालिका जानकी, फलेवासका कार्यपालिका सदस्य केशा परियार, वडा सदस्य सुनिता शर्मा, गोविन्द क्षेत्री, नेकपा फलेवासका सचिब शोभा क्षेत्री, नेकपा जिल्ला कमिटि सदस्य उपेन्द्र थापा लगायतले बोल्नुभएको थियो ।
उक्त मन्दिर स्थानीयवासीको चन्दा संकलन र फलेवास नगरपालिकाको १ लाख ५० हजार सहयोगमा निर्माण सम्पन्न भएको हो ।






