पर्वत– ६४ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा शुक्रवार विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । कार्यक्रममा बोल्दै वक्ताहरुले शान्ति सुरक्षा कायम गर्नका लागि नागरिकसँगको सहकार्य र समन्वयलाई बढाउँदै लैजानुपर्ने बताउँदै शान्ति सुरक्षालाई प्रभावकारी बनाउन उच्च मनोवलका साथ लाग्न आग्रह गरेका थिए ।
सो अवसरमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहरबी पौडेल शान्ति सुरक्षाका लागि प्रहरीको विकल्प नभएको बताउँदै निष्पक्ष र स्वतन्त्र भएर न्याय सम्पादन गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल, नेकपाका नेता भक्त कुँवर, पूर्व प्रहरी कर्मचारी हरिनारायण गिरी, अमर परिवारको तर्फवाट मेनका लामगाँदे लगायतले बोल्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक राजन रायमाझिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रहरी निरिक्षक ध्रुवबहादुर थापाले गर्नुभएको थियो भने संचालन प्रहरी नायब निरिक्षक मोहनकुमार खड्काले गर्नुभएको थियो ।
प्रहरी दिवसका अवसरमा उत्कृष्ट प्रहरी कर्मचारी प्रहरी निरिक्षक राजन रायमाझी लगायतलाई पुरस्कृत समेत गरिएको थियो भने दिवसकै अवसरमा संचालित टेवलटेनिस प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कृत गरिएको थियो ।
सो अवसरमा अमर प्रहरी परिवारद्धारा अमर प्रहरी स्मारकमा दिप प्रज्वलन गर्नुका साथै पुष्पगुच्छा अर्पण गरिएको थियो । यसैगरी कार्यक्रममा अमर प्रहरीका परिवारजनलाई कार्यक्रमका प्रमुख अतिथिले खादा ओढाई सम्मान गर्नुभएको थियो भने अमर प्रहरीको तर्फवाट अमर प्रहरी संघ पर्वतका अध्यक्ष मेनुका लाम्गादेले देश र जनताको लागी अमर प्रहरीले आफ्नो प्राणको आहुती दिएकाले राज्यले पनि अमर प्रहरी परिवारलाई उचित सम्मान गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा जिल्लामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्र.जि.अ.कल्पना घिमिरे नेपालले पुरस्कार प्रदान गर्नुका साथै समाजमा घट्ने अपराध नियन्त्रण तथा सफल अनुसन्धान गरी शान्ति सुरक्षा स्थापना गर्न नेपाल प्रहरीले खेलेको भुमिकाको प्रंशसा गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतले शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न प्रहरीसंगको सहकार्य अपरिहार्य रहेको भन्दै प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।
यसैगरी प्रहरी दिवस २०७६ को अवसरमा प्रहरी कार्यालयमा भौतिक संरचना निर्माण एवम स्तर बृद्दि गर्न सहयोग पुर्याउने कुश्मा नगरपालिका र मोदि गाउपालिकालाई कदर पत्र प्रदान गरिएको थियो ।






