प्राथमिक, माध्यमिक र निम्न माध्यमिक तहको परीक्षा क्रमशः असोज ९, १० र ११ गते हुनेछ । असार २ को विज्ञापनमा २ लाख ८३ हजार जनाले शिक्षक लाइसेन्स लिन आवेदन दिएका थिए ।
आयोगले पहिलो पटक तहअनुसार विषयगत रूपमा अध्यापन अनुमतिपत्रको परीक्षा लिन लागेको हो ।
तीनै तहको ४० पूर्णांक बराबरको उत्तरपुस्तिकासमेत यस पटकबाट मेसिनबाट परीक्षण गरिने आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाले जानकारी दिए । अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो ।
आवेदकहरूको फारम रुजु गर्ने काम जारी रहेकाले कति परीक्षार्थी हुन्छन् भन्ने यकिन भइसकेको छैन । भदौ १५ सम्म रुजु सकेर प्रवेशपत्र प्रिन्ट गर्ने व्यवस्था गरिने थपलियाले बताए ।
आयोगले २ लाख ५० हजार हाराहारीमा परीक्षार्थी हुने अनुमान गरेको छ । अनलाइनबाट आवेदन दिने व्यवस्था गरिएकाले परीक्षार्थीहरूले आफैं प्रवेशपत्र प्रिन्ट गर्न सक्नेछन् ।






