पर्वत /गएको साउन पछि खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय आइतबार देखि स्थापना गरिएको छ ।
गण्डकी प्रदेश, सामाजिक बिकास मन्त्रालय अन्र्तगत रहने गरि जिल्ला स्वास्थ्य कार्यालयको स्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बिश्वकर्मा पौडेलले उद्घाटन गर्नुभयो ।
पुरानो जिल्ला स्वास्थ्य कार्यालयमा नै स्थापना गरिएको कार्यालयमा जनस्वास्थ्य अधिकृत सहित १२ जना कर्मचारीको दरबन्दी छ । प्रदेश सरकार मातहत रहेका पर्वतका दुई प्राथमिक स्वास्थ्य चौकी सहित जिल्लाभरका सबै स्वास्थ्य चौकी, स्वास्थ्य कार्यक्रमहरु कार्यालयले सञ्चालन गर्ने भएको छ । कार्यालयले स्थानिय तहमा रहेका स्वास्थ्य इकाइहरु संग समन्वयको काम समेत गर्ने बताइएको छ।
कार्यालयको उद्घाटन गर्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले सबै स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवा प्रावह गर्न आग्रह गर्नुभयो । उहाँले सरकारी स्वास्थ्य संस्था प्रति नागरिकको बिश्वास बढाउन नसक्दा नागरिकले निजी संस्थामा महंगोमा उपचार गर्न बाध्य भएको बताउँदै समुदायको बिश्वास जित्दै स्वास्थ्य संस्था प्रतिको आकर्षण बढाउन जरुरी छ भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पर्वत अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडी, स्वास्थ्य कार्यालय प्रमुख सजिना मर्हजन, कार्यालयका अधिकृत तेजप्रसाद सुबेदी लगायतले आफ्ना धारणा राख्नुभएको थियो।