
पर्वत – फलेवास नगरपालिका वडा नं. ९ भंगराकी २१ बर्षिया सन्तोषी केसी जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा सुत्केरी हुनुभयो । उहाँले ३ केजी तौल भएको छोरालाई अस्पतालकै डाक्टर र नर्सहरुको सहयोगमा जन्म दिनुभयो ।
बच्चा जन्मिएपछि जन्म प्रमाणपत्र तत्कालै प्राप्त गर्नुभयाे, तर राज्यले तोकेको अर्को सुविधा भत्ता र यातयात भाडा भने उहाँलाई अस्पतालले दिएन ।
सन्तोषी मात्रै होइन, जिल्ला अस्पताल पर्वतमा गएको मंसिरदेखि प्रसूति भएका महिलाहरुले भत्ता र यातयात भाडास्वरुपको रकम पाएका छैनन् ।
नेपाल सरकारले राज्य मातहतका स्वास्थ्य संस्थामा सुत्केरी भएबापत भत्तास्वरुप दुई हजार र नियमित जाँच गराएकालाई थप आठ सय गरी दुई हजारदेखि दुई हजार आठ सय रुपैँयासम्म सुत्केरी भत्ता र आवातजावत वापतको भाडा पाउने व्यवस्था गरे पनि पर्वत जिल्ला अस्पतालले पर्याप्त रकम नभएको भन्दै सुत्केरीलाई रित्तोहात फर्काउने गरेको छ ।
जिल्ला अस्पताल पर्वतले गएको मंसिर महिनादेखि अस्पतालमा भएका सुत्केरीलाई भत्ता दिन नसकेको हो । अस्पताल प्रशासनले आमा सुरक्षा कार्यक्रमका लागि यसअघि भित्रिएको रकम वितरण भइसकेको र नयाँ रकम निकासा नभएको भन्दै सुत्केरी भत्ता दिन नसकेको बताएको छ ।कुश्मा नगरपालिका अन्तर्गत रहेको जिल्ला अस्पतालमा गएको कात्तिक महिनासम्म नगरपालिकामार्फत रकम भित्रिएको र गण्डकी प्रदेश मातहतमा जिल्ला अस्पताल गाभिएपछि उक्त रकम विनियोजन नभएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डाक्टर सन्तोषी थपलियाका अनुसार गण्डकी प्रदेश सरकारसँग माग गरिएको र अख्तियारी नआइसकेकोले सुत्केरी भत्ता प्रदान गर्न नसकेको जानकारी दिनुभयो ।
‘प्रदेश अन्तर्गत सञ्चालनमा आउन सुरु भएपछि रकम निकासा नहुँदा अस्पताल र स्वास्थ्य कार्यालयका प्रशासनिक कामसमेत प्रभावित बनेका छन्,’ उहाँले भन्नुभयो । जिल्ला अस्पताल पर्वतमा कार्यरत इन्डोर इञ्चार्ज सरस्वती बरालका अनुसार साउन महिनादेखि हालसम्म जिल्ला अस्पताल पर्वतमा मात्रै दुई सय ७५ जना सुत्केरी भएका छन् ।
कात्तिकसम्म नगरपालिकाबाट प्राप्त रकम चारलाख ५० हजार सुत्केरी भत्ता र यातयात भाडाका रुपमा वितरण गरिसकिएको बताउँदै त्यसपछिका सुत्केरी महिलाहरुलाई रकम अभावमा नै भत्ता र यातयात भाडा प्रदान गर्न नसकिएको उहाँले स्वीकार्नुभयो ।
पर्वतमा एउटा जिल्ला अस्पतालसहित ५२ स्वास्थ्य चौकी र दुई प्राथमिक स्वास्थ्य केन्द्र छन् । जिल्ला अस्पतालमा यो समस्या आए पनि अन्यत्रका बर्थिङ सेण्टरहरुमा भने खासै समस्या नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
उज्यालो अनलाईनबाट