अन्तर्राष्ट्रिय पर्वत समाजको अधिवेशन ः पर्वतमा लगानी भित्र्याउन तिमिल्सिनाको आव्हान - News site from Nepal

पर्वत ः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दैनिकजसो हजारौको संख्यामा युवायुवतीहरु रोजगारी खोज्दै विदेशिनु दुःखद कुरा भएको बताउनुभएको छ ।
मुलुकभित्रै प्रसस्त रोजगारीको अवसर र लगानीको वातावरण रहेपनि बेरोजगारीको संख्या बढ्नु विडम्वना भएको बताउँदै रोजगारी सिर्जनालाई तीनै तहका सरकारले जोड दिनुपर्ने बताउनुभयो । दक्षिण पर्वतको हुवासमा आयोजित अन्तर्राष्ट्रिय पर्वत समाजको दोस्रो अधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष तिमिल्सिनाले दुई तिहाई बहुमतको सरकार निर्माण पछि मुलुकमा विकास निर्माणले पनि गति लिएको र लगानीको समेत वातावरण बन्दै गएकाले प्रवासीहरुलाई लगानी भित्र्याउन आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो–तपाईहरु विकसित मुलुकमा हुनुहुन्छ, ती ठाउँका लगानीकर्ताहरुलाई यस क्षेत्रमा आकर्षण गर्नका लागि पहल गर्नुहोस् उनिहरुको सम्पुर्ण सुरक्षाको ग्यारेण्टी राज्यले गर्छ ।’ अध्यक्ष तिमिल्सिनाले सिमीत श्रोत साधन र भौगोलिक विकटताका कारण नेपाल आर्थिक रुपमा सवल हुन अझै केहि वर्ष लाग्ने वताउँदै उहाँले उर्जा, उद्योग, जडिवुटी र पर्यटनको क्षेत्रमा लगानीकर्ताहरुलाई आकर्षित गर्न गैह्रआवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।
पछिल्लो समय मुलुकमा विकास निर्माणले तीब्रता पाईरहेको बताउँदै यति गति र रफ्तारमा विकास हुने हो भने विकासको नतिजा कुर्न धेरै समय नलाग्ने बताउनुभयो । उहाँले पर्वतवाट विदेशिएका प्रवासीहरुलाई लक्षित गर्दै पर्वत जिल्ला जल, जमिन, जडिवुटि, पर्यटन र प्राकृतिक हिसावले धनि भएकोले यि सम्भावनाहरुमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले खाली पैसा आर्जन गर्ने र सुख सयलमा जीवन विताउने मात्र नभई नेपाल र नेपालीहरुको बारेमा समेत सोच्न उहाँले आग्रह गर्नुभयो । उहाँले स्थानीय, प्रदेश वा संघीय सरकारसँग हातमालो गरेर मुलुकको विकासको मार्गमा लाग्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदम गिरीले प्रवासी पर्वतेलीहरुको संगठन अन्तर्राष्ट्रिय पर्वत समाजले जिल्लामा लामो समयदेखि पु¥याउँदै आएको योगदानको प्रसंसा गर्नुभएको छ । उहाँले जिल्लाको आर्थिक, सामाजिक र भौतिक विकासका लागि साझेदारी गरेर अघि बढ्न तयार रहेको बताउँदै लगानीका क्षेत्रहरु पहिचान गरी प्रवासीहरुले आर्जन गरेको पुँजीलाई एकत्रित गरेर लगानी गर्न समेत आग्रह गर्नुभएको छ ।
कार्यक्रममा संविधान सभा सदस्य अर्जुनप्रसाद जोशी, कल्पना चापागाई, एशिया प्यासिफिक संयोजक ओम गुरुङ, आईसीसीका नेपाल प्रतिनिधि गोविन्द श्रेष्ठ, अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक गोविन्द सुवेदी, अन्तर्राष्ट्रिय कास्की समाजका अध्यक्ष पुर्ण तिमिल्सिना, संमाजका सल्लाहाकार कुल आचार्य, पुष्प तिमिल्सिना, संरक्षक महेश श्रेष्ठ, पैंयु गाउँपालिका पर्वतका अध्यक्ष खगेन्द्र तिवारी, वडा नम्वर ४ का अध्यक्ष महेन्द्र श्रेष्ठ, जनसे.वा संस्कृत मावि हुवासका व्यवस्थापन समिति अध्यक्ष गिरीराज गौतम लगायतले बोल्नुभएको थियो ।
अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत नेपाल प्रतिनिधि मुना भुसाल र संचालन गुणराज शर्माले गनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!