पर्वत–पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा चालु आर्थिक वर्षमा रु ७ लाख रुपैया बजेट बिनीयोजन भएपछि पदमार्ग निर्माण गरिएको हो ।
पवित्र कालीगण्डकी नदि किनारमा रहेको अर्मादी घाटदेखि केटीचौर सम्म जानका लागि पदमार्ग निर्माण गरिएको निर्माण समितिका सचिब कृष्ण नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार पाङ र खुर्कोट क्षेत्रका स्थानीय वासीहरुलाई पोखरा–बागलुङ सडकमा आउजाउ गर्न, कालीगण्डकी तीरमा रहेको घाटमा शब दाहसंस्कारका लागी जान र गाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज रुपमा हिडडुल गर्नका लागि पदमार्गले सहज भएको स्थानीय शेषराज रेग्मीले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा बिनीयोजित रकमले केहि भागमा पदमार्ग बनाईएको र उक्त पदमार्ग सम्पन्न गर्नका लागि अझै बजेटको आवश्यकता पर्ने रेग्मीले बताउनुभयो । उक्त पदमार्गको हालै पर्यटन मन्त्री विकास लम्सालले अनुगमन गर्नुभएको छ ।
गृहजिल्ला पर्वत आएको सन्दर्भमा उक्त पदमार्गको अनुगमन गर्दै गुणस्तरीय काम भएको प्रतिक्रिया दिनुभयो । उहाँले पदमार्ग सम्पन्न गर्नका लागि आगामी आर्थिक वर्षमा थप बजेटको व्यवस्थापन गर्ने आश्वासन समेत दिनुभएको छ । सो अवसरमा मन्त्री लम्सालले पर्यटन क्षेत्रवाट गण्डकी प्रदेशको समृद्धि सम्भव हुने बताउँदै बढ्दो आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनलाई मध्यनजर गर्दै पर्यटन पूर्वाधारहरुलाई जोडतोडका साथ निर्माण गरिएको बताउनुभयो ।






