नवजागृत माध्यमिक बिद्यालयमा बिद्यार्थीलाई बस सेवा सञ्चालन - News site from Nepal

पर्वत ।पर्वतको नमुना सामुदायिक बिद्यालय नवजागृत माध्यामिक बिद्यालयले मोदी गाउँपालिकाको सहयोगमा बिद्यार्थीका लागि बस सेवा शुरु गरेको छ ।
प्राबिधीक शिक्षा समेत शुरु गरेको बिद्यालयमा टाढा टाढा देखि बिद्यार्थी आउन थालेपछि गाउँपालिकाको सहयोगमा बस सेवा शुरु गरेको हो । बस सेवा शुरु गर्ने नवजागृत माबि पर्वतको पहिलो सामुदायिक बिद्यालय हो ।

नवजागृत माध्यामिक बिद्यालयमा बस सेवा सञ्चालनका लागि गाउँपालिकाले २२ लाख २५ हजार रुपैया सहयोग गरेको छ भने नपुग १ लाख ६३ हजार रुपैंया पनि उपलब्ध हुने अपेक्षा गरेको बिद्यालयका प्रधानाध्यापक त्रिष्णुप्रसाद सुबेदीले बताउनुभयो । ‘गाउँपालिकाले बस सेवा सञ्चालनका लागि सहयोग गर्दा बिद्यार्थीलाई सहज भएको छ ।’ प्रधानाध्यापक सुबेदीले भन्नुभयो ‘अझै पनि बिद्यालयले थप सहयोग पाउने अपेक्षामा छौ’

बस सेवा सञ्चालनपछि पर्वत र कास्की जिल्लाका बिद्यार्थीलाई सुबिधा पुगेको छ । नवजागृत माबिमा पर्वतको मोदीगाउँपालिका, कुस्मा नगरपालिका र कास्कीको अन्नपुर्ण गाउँपालिकाबाट समेत बिद्यार्थी आउने गर्दछ । बस सेवा पुगेपछि १ घण्टा पदैल हिड्ने र १५ किलोमिटर बसमा यात्रा गरेर समेत बिद्यार्थी अध्ययनका लागि पुग्ने गरेका छन । कुस्मा नगरपालिकाको पकुवा, परादी देखि अन्नपुर्ण गाउँपालिकाको लुम्ले, नयाँपुल क्षेत्रबाट समेत बिद्यार्थी अध्ययनका लागि आइरहेको बिद्यालयले जनाएको छ ।

यो बिद्यालयमा अहिले ७ सय भन्दा बढी बिद्यार्थी अध्ययन गर्दै आएका छन । बिद्यालयले अंग्रेजी माध्यममा कक्षा १० सम्म पढाउने गरेको छ । अंग्रेजी माध्यम र नेपाली माध्यम गरि दुबै माध्यममा छुट्टाछुट्टै पढाउँदै आएको छ । बिद्यालयमा कक्षा ९ देखि प्राबिधीक बिषयमा समेत पढाई हुने गरेको छ । ओभरसियर बिषयमा ९ र १० मा ४९ र कक्षा ११मा १८ जना बिद्यार्थीले अध्ययन गर्दै आइरहेका छन ।

स्थानिय सरकारले सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि बिभिन्न सहयोग गर्दै आएका समाचार बाहिर आउने गर्दछन । तर सामुदायिक बिद्यालयमा गरिब, र बिपन्न बर्गका बालबालिकाले अध्ययन गर्न आउने भएकाले बिद्यालयको गुणस्तर सुधार गर्न बिशेष महत्वका साथ काम गर्ने योजना अनुरुप बस सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष तथा गाउँपालिकाका प्रबत्ता बिमल लामिछानेले बतउनुभयो ।

‘नव जागृत माध्यामिक बिद्यालयलाई शैक्षिक केन्द्रको रुपमा बिकास गर्ने वडाको मुख्य उद्देश्य भएकाले बस सेवा सञ्चालन गरिएको हो’ अध्यक्ष लामिछानेले भन्नुभयो ‘आगामी बर्षहरुमा वडामा रहेका अन्य सामुदायिक बिद्यालयमा सुधार गर्ने र प्रबिधी मैत्री बनाउने योजनामा छौ’ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!