पर्वतमा पनि राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी, सरोकारवालासँग छलफल - News site from Nepal

पर्वत– गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नागरिकको वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गरिएको राष्ट्रिय परिचयपत्र पर्वतमा पनि वितरण गर्नका लागि आज अन्तरक्रिया गरिएको हो । राष्ट्रिय परिचयपत्रमा नागरिकता, राहदानी, मालपोत, यातायात व्यवस्था, पञ्जीकरण कार्यालय, स्थानीय निकाय, बैंक, टेलिकम, सवारी चालक अनुमतिपत्र, लोकसेवा आयोग, पान नम्बर लगायतको विवरण एकै ठाउँ डिजिटलाइज प्रविधिमार्फत राख्न सकिने भएपछि पर्वतमा पनि यसको वितरण गर्न थालिएको हो ।
कार्यक्रममा विभागका निर्देशक चेलेन्द्र न्यौपानेले राष्ट्रिय परिचय पत्रको परिचय, उद्धेश्य, उपयोग र फाईदा तथा वितरण सम्वन्धि व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख यामकुमारी रानाले राष्ट्रिय परिचय पत्र वितरणलाई प्रभाबकारी ढंगले संचालन गर्नका लागि जनप्रतिनिधि र कर्मचारीहरुको सवैभन्दा ठुलो भूमिका रहने बताउनुभयो । उहाँले पर्वत जिल्लामा पनि राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रमलाई प्रभाकारी बनाउनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, महाशीला गाउँपालिकाका अध्यक्ष राजु पौडेल, फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारी, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, विहादी गाउँपालिकाका उपाध्यक्ष डम्वरकुमारी गुरुङ लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुले आ–आफ्ना धारणा राख्नु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने र संचालन सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!