पर्वतको हलहलेमा चट्याङबाट ज्यान गुमाएकी तारादेवीको परिवारलाई घरमै पुगेर राहत प्रदान - News site from Nepal

पर्वत । गत वैशाख २ गते राती परेको चट्याङ लागेर ज्यान गुमाएका परिवारलाई राहत रकम प्रदान गरिएको छ ।
चट्याङ लागेर ज्यान गुमाएकी पर्वतको मोदी गाउँपालिका वडा नं. ४ हलहलेकी २२ वर्षिया तारादेवी पुनको परिवारलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले राहात दिएको हो । वैशाख २ गते सोमवार घरमै बसिरहेका बेला उनलाई चट्याङ लागेको थियो । चट्याङबाट घाईते भएकी पुनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।
पिडितका परिवारलाई जिल्ला विपत व्यवस्थापन समितिको तर्फबाट आइतवार विहान रु एक लाख रुपैया हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाले पिडितको घरमै पुगेर उक्त रकम मृतक तारादेवीका श्रीमान प्रेम पुनलाई हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै प्रजिअ ढकालले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदनना प्रकट गरेका थिए । उनले पिडित परिवारलाई काजकिरीया लगायत घरायसी खर्च व्यवस्थापन होस् भनेर गृह मन्त्रालय अन्तर्गत उक्त राहत रकम प्रदान गरिएको बताए । सदरमुकामसम्म जानुपर्ने, विभिन्न कागजात र प्रकृया मिलाउँदा पिडित परिवारलाई झनै समस्या हुने भएकाले आफु घटनास्थलमै आएर राहत प्रदान गरिएको उनको भनाई छ ।
मृतक पुनका तीन वर्षिय छोरा रहेका छन् भने श्रीमान र सासुआमा घरमा रहेका छन् । आर्थिक रुपले विपन्न उक्त परिवारमा तारादेवीको मृत्यु भएपछि झनै ठुलो संकट परेको छ ।
घरमै आएर सरकारले राहत दिएको भन्दै पिडित परिवारका सदस्यहरुले खुसी व्यक्त गरेका थिए । पर्वतमा वर्षेनी चट्याङका कारण मानवीय वा पशु चौपायाको क्षति हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!