चटपटे खान हुरुक्कै हुने बानी छ ? सरकारले गर्दैछ बिक्रीमा कडाइ - News site from Nepal
चटपटे खान हुरुक्कै हुने बानी छ ? सरकारले गर्दैछ बिक्रीमा कडाइ

काठमाडौं – सरकारले चटपटे बिक्रीमा कडाइ गर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशिका बनाएर मापदण्ड निर्धारण गर्दै चटपटे बिक्रीमा कडाइ गर्ने भएको हो । त्यसका लागि विभागले ‘स्ट्रिट फूडको स्वच्छता सम्बन्धी निर्देशिका २०७५’ को मस्यौदा तयार पारिसकेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले निर्देशिकाको मस्यौदा तयार भएको भन्दै त्यसलाई स्वीकृत गर्न बाँकी रहेको बताए ।
‘सडक पेटीमा बेचिने वस्तुको नियमन गर्नुपर्छ,’ उनले भने, ‘विशेषगरी सडक पेटीमा प्रिन्टेड कागजमा बिक्री हुने खानेकुरा नियमनका लागि निर्देशिका लगभग बनिसकेको छ । अब मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ ।’ कृषि तथा पशुपन्छी विकास मन्त्रीबाट स्वीकृत भएपछि निर्देशिका कार्यान्वयनमा आउने छ ।
विभागकी उपमहानिर्देशक मतिना जोशी वैद्यले चटपटे बिक्री गर्दा दर्ता गरेर बिक्री गर्नुपर्ने मापदण्ड बनाइएको बताइन् । कागजमा बिक्री हुने चटपटे स्वास्थका दृष्टिकोणले हानिकारक भएको भन्दै त्यसको नियमनका लागि निर्देशिका बनाइएको उनले बताइन् ।
‘चटपटे दर्ता गरेर बिक्री गर्नुपर्ने मापदण्ड बनाएका छौं,’ उनले भनिन्, ‘अमिलो हालेको चटपटे पत्रिकामा राखेर खानु हानिकारक हुन्छ ।’
चटपटेमा हालिने अमिलोसँगै पत्रिकामा भएको मसी पखालिएर आउने र मसीमा प्रशस्त रसायन हुने भन्दै उनले त्यो रसायन स्वास्थका लागि हानिकारक हुने बताइन् । ‘चटपटेमा जुन अमिलो हुन्छ, त्यसले पत्रिकामा भएको मसी पनि खानेकुरासँगै पखालिएर आउँछ,’ उनले भनिन्, ‘त्यो मसीमा प्रशस्तै अखाद्य केमिकल हुन्छ ।’
सडक पेटीमा पाइने चटपटे धुलो धुँवाका कारणले उसैपनि दूषित हुन सक्ने भन्दै विभागले त्यसको नियमन अपरिहार्य रहेको बताएको छ ।
निर्देशिमा सडक पेटीमा गरिने व्यवसाय प्यानमा दर्ता हुनुपर्ने, खानेकुरा कागजमा बिक्री गर्न नपाइने मापदण्ड तोकिएका छन् । बिक्री गर्नका लागि राखिएका पानीपुरी, चटपटेजस्ता वस्तुको सम्पर्क प्रदूषित वातावरणसँग हुन नहुने समेत मापदण्डमा उल्लेख गरिएको विभागका अधिकारीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!