उत्तरी पर्वतको मिलनचोक–सल्यान–धारापानी सडक कालोपत्रे योजना सुरु - News site from Nepal

पर्वत- उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक देखि ठोटनेरी सम्मको सडक कालोपत्रे योजना सुरु भएको छ । योजनाको विहिवार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रम विच मिलनचोक,सल्यान,घाहाखेत धारापानी,ठोटनेरी सडकको शिलान्यास गर्नुभएको हो ।

मिलनचोक,सल्यान,घायखेत,धारापानी ठोटनेरी हुँदै सालिजाको भोटेडाँडा,लेकफाँट,रातमाटा हुँदै माझफाँट देखि पर्वत बेनी सम्म रिङरोडको अवधारणा सहित गण्डकी प्रदेश सरकारले उ्रक्त सडकलाई स्तरउन्नती सहित कालोपत्रे गर्ने योजना अघि सारेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको एक प्रदेशसभा सदस्य एक नमुना सडक कार्यक्रम अनुसार सभामुख नेत्रनाथ अधिकारीले उक्त सडकको स्तरउन्नती सहित कालोपत्रे गर्ने योजना छनौट गर्नुभएको हो ।

जलजला गाउँपालिकाको आयोजनामा आयोजित शिलान्यास कार्यक्रममा गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी,जिसस प्रमुख मनोहर वि पौडेल, जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल लगायत राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मल्लले पाँचवर्ष भित्र गाउँपालिका भित्रका मुख्य ग्रामिण सडकहरु कालोपत्रे गर्ने योजनालाई गण्डकी प्रदेश र संघिय सरकारले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मिलनचोक देखि १० किलोमिटर सडक कालोपत्रे हुने छ । सडकको चौढाई ८ मिटर हुने छ । एकमिटर नाली र ७ मिटर कालोपत्रे हुने पूर्वाधार विकास कार्यालय पर्वतका सतिस सुवेदीले जानकारी दिनुभयो । २४ महिना भित्र योजना सम्पन्न गर्ने गरी हिन्दुङ थोकर कन्ट्रक्सन प्रा.लि सँग २८ करोड १३ लाख १० हजार ६ सय रुपैयामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

साघुरो सडकलाई १० मिटर फराकिलो बनाउनुका साथै सडकको ग्रेट मिलाउने र नाली बनाउने काम गरी कालोपत्रे उपभोक्ता समितिका आचार्यले जानकारी दिनुभयो ।

सडक निर्माण भएपछि धाइरिङको कृषि उपजलाई बजारीकरणमा सहयोग पुग्ने आशा गरिएको छ । प्राकृतिक पर्यटकीय स्थल जलजलाका साथै धार्मिक पर्यटकीय स्थल भुमेथानको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा गरिएको वडा अध्यक्ष टुङगनाथ आचार्यले बताउनुभयो ।

सडक निर्माण पछि तरकारीको पकेट क्षेत्रका रुपमा परिचित धाइरिङ र तारेमा उत्पादित आलु लगायत तरकारीवालीको बजारीकरणका लागि सहज हुने अपेक्षा गरिएको छ ।

सडक कालोपत्र योजना सुरु भएको खुसियालीमा स्थानीयवासीहरुले बाजागाजा सहित नाचगान गरेका थिए । कार्यक्रमको सञ्चालन जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!