म एनआरएनएमा अनवरत लडेको सिपाही हुँ : कुल आचार्य - News site from Nepal
म एनआरएनएमा अनवरत लडेको सिपाही हुँ : कुल आचार्य

काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)का उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार कुल आचार्यले डायस्पोराको माग र मुलुकको समृद्धीका लागि आफू अध्यक्षका लागि सक्षम भएको दावी गरेका छन् ।

शुक्रबार साँझ संचारकर्मीहरुसँग कुरा गर्दै संस्थामा विगत १२ बर्षदेखि अनवरत रुपमा संघर्ष गरिरहेकाले विश्वभरका नेपालीको समस्या बुझ्ने अवसर मिलेकाले सबैको सल्लाह अनुसार नै नेतृत्वका लागि दावी गरेको बताएका छन् ।

गैरआवासीय नेपाली संघ बेलायतको उपाध्यक्ष, अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप संयोजक हुँदै हाल उपाध्यक्ष भएर काम गरिसकेपछि मेरो अन्तिम विकल्प अध्यक्ष नै भएकाले नेतृत्वका लागि दावा गर्न सक्ने अवस्थामा पुगेको उनको भनाइ छ । उनले प्रश्न गरे, ‘अब म अध्यक्ष नभए कहाँ जाउँ ?’

‘विश्वभर छरिएर रहेका नेपालीहरुको समस्या बुझेको छु, थुप्रै समस्याहरुको समाधान मेरै पहलमा भएका छन्, वास्तवमा म एनआरएनएका सबैखाले मुद्दाको साक्षी भएका हिसाबले आफूलाई योग्य ठानेको छु’, उनले भने,‘म एनआरएनएको सिपाही हुँ, संस्थालाई ब्यक्तिगत भन्दा संस्थागत स्वार्थमा काम गर्ने अठोट राख्छु ।’

उनले एनआरएनएले उठाएका नागरिकताको मुद्दा, मतदान अधिकार, नेपालमा लगानीका लागि सर्वशुभल कानुनको माग, मलेसिया र खाडी देशहरुमा कार्यरत नेपालीहरुले भोगीरहेका समस्या समाधानका लागि आफ्नो स्पष्ट योजना तयार रहेको पनि जानकारी गराए ।

उनले भने, ‘संस्था स्थापना देखि नै नागरिकताको मुद्दामा आफू क्रियाशिल रहेको साथै मतदान अधिकारका सवालमा पनि सरकारलाई अनुरोध गरिसकेकाले आगामी मेरो नेतृत्वमा बन्ने नयाँ कार्यसमितिले यसको छिनोफानो गर्नेछ ।’

१० अर्ब लगानीको सवालमा आफ्नो छुट्टै दृष्टिकोण रहेको जनाउँदै उनले यसका लागि अनुभवी भन्दा पनि क्षमतावान र सक्षम सिइयोले आवश्यक रहेको र राम्रो प्रोजेक्ट तयार गरेर डायस्पोराको लगानी सुरक्षित गर्ने आफ्नो योजना उनले सुनाए ।

यही अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने संघको नवौं विश्वसम्मेलन एवम अन्तराष्ट्रिय अधिवेशनका लागि विभिन्न देशको भ्रमण सकेर आचार्य हाल काठमाडौंमा चुनावी लबिङमा ब्यस्त छन् ।  अध्यक्षका दावेदार उनले यसअघि नै १० बुँदे घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!