बागलुङ नगरपालिकाको अगुवाइमा पञ्चकोट जान केबलकार बनाइने - News site from Nepal
बागलुङ नगरपालिकाको अगुवाइमा पञ्चकोट जान केबलकार बनाइने

बागलुङ — धार्मिक पर्यटकीय गन्तव्य बनाउन धमाधम संरचना बनिरहेको पञ्चकोट पुग्न केबलकार बनाइने भएको छ । बागलुङ नगरपालिकाको अगुवाइमा स्थानीय बासिन्दाको सेयर संकलन गरेर केबलकार बनाउन चिनियाँ कम्पनीले अध्ययन गरेको छ । चीनको बेइजिङ गुडयु रोपवे इन्जिनियरिङ कम्पनीले प्रारम्भिक अध्ययन गरेर केबलकार बनाउन सकिने प्रतिवेदन दिइसकेको छ । 
नगर प्रमुख जनकराज पौडेलको आग्रहमा नेपाली इन्जिनियर श्याम अधिकारीले चिनियाँ कम्पनीसँग सम्पर्क गराएका थिए । एक महिनाको अध्ययनपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत रुआन बीआईओले सम्भाव्यता प्रतिवेदन सार्वजनिक गरे । ‘भौतिक र धार्मिक महत्त्वको हिसाबले केबलकार बनाउन उपयुक्त छ,’ बीआईओले भने, ‘ठूला कम्पनीलाई लगानी गर्न लगाउनुभन्दा स्थानीयकै लगानी भएमा दिगो र नाफा गाउँमै रहन्छ ।’ उनले कम्पनीले प्राविधिक काममा सघाउने बताए ।
केबलकार बनाउने र फिटिङ गर्ने दुवै काम गरेको कम्पनीले चीन, भारत र बंगलादेशमा दर्जनौं योजना सम्पन्न गरेको दाबी गरे । नेपालमा पहिलो पटक काम गर्न आउन खोजेको उसले एक वर्षमै योजना सम्पन्न गर्ने जनाएको छ । साढे २ किमि लामो केबलकारका लागि ७ सय १०मिटर उचाइको संरचना निर्माण हुनेछ । दैनिक ३ हजार जनासम्म यात्रीलेआउजाउ गर्न सकिने भएकोले धार्मिक पर्यटक बढ्दा २ वर्षमा नाफा कमाउन सकिने प्रतिवेदनमा छ ।
कम्तीमा ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको योजना आसपासमा भौतिक संरचना निर्माण, पर्यटकीय अन्य आकर्षणका क्षेत्रसमेत बनाइसक्दा ८० करोड खर्च हुने अधिकारीले बताए । त्यसका लागि बागलुङ नगरपालिकाको ४, ५ र ६ वडा र बजारवासीलाई १० हजार देखि १ लाख रुपैयाँको सेयर खरिदमा आग्रह गर्ने वडा ४ का अध्यक्ष धु्रवबहादुर केसीले बताए ।
‘यो अभियानले हाम्रो नगरको गौरव बढ्ने हो, त्यसैले सबैलाई बुझाएर लगानी गर्न भन्नेछौं,’ केसीले भने, ‘विकासका सम्भावनाबारे सबैलाई बताउँदा यो सम्भव पनि हुनेछ ।’ एक सय ८ फिट अग्लो कलससहित धार्मिक गन्तव्य निर्माण गर्न लागिएको पञ्चकोटको डीपीआर तयार भएकोले केबलकार परियोजना थप सहयोगी बन्ने नगर प्रमुख जनकराज पौडेलले बताए ।
पाँच वर्षदेखि सहायक पूर्वाधार बनिरहेको पञ्चकोटमा आगामी वर्ष मुख्य कलस निर्माणको काम थाल्नका लागि गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले संघीय सरकारका लागि समपूरक कोषमा बजेट माग गरेको छ । मन्त्रालयले तेस्रो प्राथमिकतामा पञ्चकोटको पूर्वाधार निर्माणका लागि ३२ करोड रुपैयाँ अर्थमन्त्रालयमा माग गरेको उद्योग, पर्यटन तथा वनमन्त्री विकास लम्सालले बताए ।
१० करोडभन्दा ठूलो रकमको योजनालाई प्रदेश सरकारले संघीय अर्थमन्त्रालयमा समपूरक कोषका लागि सिफारिस गर्नसक्ने प्रावधान छ । डीपीआरमा ३२ करोडमा कलश बनाउने उल्लेख रहेको सर्वसिद्धिधाम पञ्चकोट निर्माण अभियानका प्रतिनिधि अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!