पर्वत– पर्वत जेसीजको आयोजनामा अर्मादी आधारभुत विधालयमा दिवा खाजा कार्यक्रम शुभारम्भ गरिएको छ ।
कुश्मा नगरपालिकाको प्रत्येक वडामा पर्वत जेसीजले यस बर्ष विविध कार्यक्रम सञ्चालन गर्ने वार्षिक कार्ययोजना अन्तर्गत यहि बैशाख २० गते कुश्मा नगरपालिकाको वडा नं.४ स्थित अर्मादी आधारभुत विधालयमा अध्ययनरत विधार्थीहरूलाई शैक्षिक सत्र २०७६ का लागि दिवा खाजा कार्यक्रम शुभारम्भ गरिएको हो ।
पर्वत जेसीजका पुर्व अध्यक्ष एबं नेपाल जेसीज फाउण्डेशनका कोषाध्यक्ष वसन्तकुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि कर्माचार्यले दिवा खाजा कार्यक्रमको दिगोपनका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको थियो ।
यस्ता कार्यक्रम राज्यका कार्यक्रममा जोड्न सकेमा अझै प्रभावकारी बन्ने बताउदै स्थानीय संघरसंस्थाको समन्वयमा अक्षयकोष स्थापनामा सक्रिय बन्न आग्रह गर्नुभएको थियो । पर्वत जेसीजका अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पर्वत जेसीजका पुर्व अध्यक्ष बद्रीनारायण पौडेल, विधालय ब्यवस्थापन समितिका अध्यक्ष हेमनाथ आचार्य, प्रधानाध्यापक जगदिशराज शर्मा लगायतले दिवा खाजा कार्यले सकरात्मक सन्देश दिने बताउनुभएको थियो ।
कार्यक्रम संयोजक सुमन श्रेष्ठको स्वागत, सहसचिव सुरेन्द्र पौडेलको आस्थापाठ, महासचिव रामु शर्माको सञ्चालनमा सम्पन्न सो कार्यक्रमका लागि जेसीज सदस्यहरूले आफ्नो खर्च कटौती गरि सहयोग गरिएको थियो । बाबा फाउण्डेशन नेपाल पोखराले विधार्थीका लागि कपि र कलम उपलब्ध गराएको थियो ।






