
पर्वत–सदरमुकाममा रहेका सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवा गाउँमै पुगेर दिनका लागि जिल्ला प्रशासन कार्यालय पर्वतले बिहादीमा घुम्ती शिविर संचालन गर्ने भएको छ ।
जिल्ला प्रशसन कार्यालय पर्वतका अनुसार गाउँबाट सदरमुकामसम्म आएर सेवा लिनका लागि असहज भएका नागरिकहरुलाई मध्यनजर गरेर बिहादी गाउँपालिकाको केन्द्र रहेको स्थानमा यही चैत २३ गते शनिवार शिविर संचालन गर्न लागिएको हो । बिगतमा पनि बिभिन्न कार्यालयका कर्मचारीहरु पुगेर घुम्ती शिविर र सार्वजनिक सुनुवाई कार्यक्रम गरिँदै आएकोमा सोही अनुसार नै बिहादीमा पनि सार्वजनिक सुनुवाई सहित शिविर संचालन गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयले एक दिने घुम्ती शिविरमा उपस्थित भएर बिभिन्न सेवाहरु एकै ठाउँबाट लिनका लागि बिहादी गाउँपालिका सहित आसपासका क्षेत्रका नागरिकहरुलाई अनुरोध गरेको छ ।
शिविरमा जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण र अन्य बिभिन्न सिफारिसहरु प्रदान, जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सुनुवाई, जिल्ला निर्वाचन कार्यालयले फोटो सहितको मतदाता नामावली संकलन, कृषि ज्ञान केन्द्रले कृषि सम्बन्धि सेवा प्रदान, स्वास्थ्य कार्यालयले स्वास्थ्य शिविर, जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले सार्वजनिक सुनुवाई, शिक्षा हेर्ने जिल्ला आयोजना इकाईले बिभिन्न परामर्श सेवा, जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयले परामर्श सेवा, कोष तथा लेखा नियन्त्रण कार्यालयले मदिरा व्यवसाय दर्ता, पशु सेवा सम्पर्क कार्यालय, भू तथा जलाधार संरक्षण कार्यालय र डिभिजन वन कार्यालयले परमामर्श सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।
यस्तै, घरेलु तथा साना उद्योग विकास समितिले व्यवसाय दर्ता सेवा प्रवाह गर्ने भएको छ । प्रशासन कार्यालयले बिहादी गाउँपालिका र सबै वडाहरुलाई पनि पत्राचार गरेर नागरिकहरुलाई शिविरमा उपस्थित गराएर सेवा लिन सहजीकरण गर्न आह्वान गरेको छ ।