पर्वतको पिपलटारी पुगेर राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने ‘प्रविधियुक्त शिक्षाको विस्तार गर्नुपर्छ’ - News site from Nepal

पर्वत ः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अबको युगमा प्रविधियुक्त शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको पुर्णेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै तिमिल्सिनाले अब परम्परागत शैलीको शिक्षालाई पुर्ण रुपमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षा लिनु भनेको शिक्षित हुने मात्र नभई शिक्षालाई हरेक क्षेत्रमा रुपान्तरण गर्न सकिने खालको आधुतिक र प्रविधियुक्त शिक्षाको विकासमा राज्यले लगानी गर्नुपर्छ भन्नुभयो । उहाँले प्रत्येक स्थानीय तहमा एक एक वटा विद्यालयमा प्राविधिक शिक्षा संचालन हुनुपर्ने बताउँदै कम्तिमा माध्यमिक तहको शिक्षा पुरा गरेपछि कुनैन कुनै विषयमा दक्ष बनोस र रोजगारी वा स्वरोजगारमुलक काम गर्न सकोस भन्ने उद्धेश्यका साथ तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले अब शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो नेपाल बन्न नहुने बताउँदै स्वदेशमै लिएको शिक्षाले स्वदेशमै रोजगार गर्न सक्ने बातावरण निर्माण गर्न सकेमा मात्र मुलुकले छिटो फड्को मार्ने उहाँको भनाई रहेको थियो । अध्यक्ष तिमिल्सिनाले मुलुकले विस्तारै गति लिँदै गएको बताउँदै अबको पाँच वर्ष भित्रमा नागरिकले अपेक्षा गरेभन्दा पनि धेरै विकास हुने बताउनुभयो । उहाँले बहुमत प्राप्त सरकारले नागरिकको मन जित्नेगरी दिर्घकालीन महत्वका योजनाहरु अघि सारेको बताउँदै अब विकास निर्माण हुँदैन कि, मुलुक फेरी पछि धकेलिन्छ कि भन्ने चिन्ता नलिन पनि आग्रह गर्नुभयो ।
तिमिल्सिनाले अबको पाँच वर्ष भित्रमा पर्वतका अधिकांस सडकहरु कालोपत्रे गर्ने, घरघरमा खानेपानी लगायत आधारभूत सुविधाहरु पु¥याउनका लागि आफु निरन्तर सक्रिय रहने बताउनुभयो । उहाँले पुर्णेस्वर माविमा प्राविधिक शिक्षालय संचालन गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद पदम गिरीले तीनै तहका सरकारहरुको आवश्यक समन्वय र सहकार्यबाट समृद्ध पर्वत जिल्ला बनाउनका लागि निरन्तर लागिपरेको बताउनुभयो । उहाँले अबको पाँच वर्ष भित्रमा सरकारले गरेका सवै प्रतिवद्धता र थालेका योजनाहरु सम्पन्न हुनेमा विश्वस्त हुन आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य जुनादेवी नेपाली, ललितकला गुरुङ्ग, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेल, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, नेकपाका जिल्ला संयन्त्र सदस्य गोविन्द पहाडी, नेपाली काँग्रेसका जिल्ला सदस्य चुडामणी शर्मा, कुश्मा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष सुजन विक, बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा लगायतले बोल्नुभएको थियो ।
स्वर्ण महोत्सव मुल समारोह समितिका अध्यक्ष गणेश शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य महोत्सव मूल आयोजक समितिका सहंयोजक शान्त पौडेलले गर्नुभएको थियो । धन्यवाद मन्तव्य नेकपाका प्रदेश कमिटि सदस्य तथा महोत्सवका अतिथि सत्कार संयोजक मेघनाथ सुवेदीले गर्नुभएको थियो भने संचालन प्रचार प्रसार संयोजक गणेश पौडेलले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सरोज के.सी.ले विद्यालयका ईतिहास तथा हालसम्म भएका प्रगतिहरुको बारेमा जानकारी गराउनुभएको थियो । पूर्णेश्वर मा.वि. बि.सं. २०१७ सालमा स्थापना भएको थियो । अहिले कक्षा १२ सम्मका कक्षाहरु संचालन भैरहेको बिद्यालयमा २ सय ७५ जना बिद्यार्थीहरु अध्ययनरत छन् । स्वर्ण महोत्सवमा चन्दा संकलन पनि गरिने भएको छ भने उठेको रकमले प्राबिधिक धार तर्पmको पढाई पनि संचालन गर्ने लक्ष्य राखिएको बिद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!