राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्धारा मजदुर दिवसको अवसरमा शुभकामना व्यक्त - News site from Nepal

पर्वत– आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात १३० औं मजदुर दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति,समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जन गर्न पाउने लगायत पेशागत हितको प्रबद्र्धन र कामको सुरक्षाका आधारभूत माग राखि अमेरिकाको शिकागोमा भएको संघर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको दिवसको अवसरमा सम्पुर्ण देशवासीहरुमा शुभकामना प्रदान गर्नुभएको हो । आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष तिमिल्सिनाले श्रम कुनै बस्तु वा बिक्रि वितरणको साधन नभएको उहाँको भनाई छ । मजदुरहरुको आन्दोलनले विभिन्न आरोह अबरोह पार गर्दै कामको छनौट गर्ने अधिकार, उत्पादनमुलक रोजगारीको अवसर, बिना भेदभाव समान कामका लागि समान पारिश्रमिकको अधिकार, सुरक्षित र स्वस्थ कामका अवस्थाहरु, विश्राम तथा कार्यघण्टाको उचित सीमा एवं तलबी बिदाको अधिकार, ट्रेड युनियन खोल्ने र सम्मिलित हुन पाउने अधिकार, सामुहिक सौदावाजी तथा सामाजिक बिमा र सामाजिक सुरक्षा जस्ता अधिकारहरु स्थापित भएको उहाँको भनाई छ ।
शुभकामना सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको योगदानको उच्च मुल्यांकन तथा सम्मान गर्दै राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतीका लागि रोजगारी र श्रम सम्बन्धी अधिकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । उहाँले सम्पूर्ण श्रमिकहरुले राष्ट्रको समग्र विकासमा महत्वपूर्ण योगदान गर्न तथा आफ्नो हक–अधिकारको सार्थक रुपमा प्रयोग गर्न सकुन् भन्ने शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!