
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व-उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ।
लामो समयदेखि अस्वस्थ रहेका अधिकारीको २० दिनदेखि मण्डिकाटारस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। उनी अचेत रहेको र आइसियुमा भेन्टिलेटरमा राखिएको अस्पताल स्रोतले बताएको छ। ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।
उनी लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए। हाल उनलाई ह्याम्स अस्पतालमा वरिष्ठ छातीरोग विशेषज्ञ अर्जुन कार्की, मुटुरोग विशेषज्ञ डा. भगवान कोइरला र डा. रोसन राउत लगायतका छाती रोग र मुटुरोग विशेषज्ञको टोली उनको उपचारमा संलग्न रहेको अस्पतालले जनाएको छ। यता अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि विदेशमा रहेका उनका छोरीहरू स्वदेश फर्किदै छन्। उनी पूर्व-प्रधानमन्त्री मनमोहन अधिकारीका भाइसमेत हुन्।
अधिकारी कम्युनिस्ट आन्दोलनका एक अग्रणी नेताको रूपमा लिइने गरिन्छ। तत्कालीन एमालेले लागू गरेको आफ्नो गाउँ आफैँ बनाउ अभियानको प्रणेताको रूपमा समेत उनलाई लिइने गरिन्छ।