पर्वत– नागरिकताको प्रमाणपत्र लिन असहज भएकाहरुको लागि शिविर चलाएर नागरिकताको प्रमाणपत्र प्रदान गर्दै आएको जिल्ला प्रशासन कार्यालय पर्वतले फलेवास नागरपालिकामा पनि शिविर संचालन गर्ने भएको छ ।
अपांगता भएकाहरु तथा बृद्ध अवस्थामा रहेकाहरुलाई नागरिकता लिनकै सदरमुकाम कुश्मा सम्म आउन पनि असहज भएको हुन सक्ने भन्दै फलेवास नगरपालिका २ थापाठानामा शिविर राख्न लागिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार यही पुष १३ गते एक दिनका लागि थापाठाना, कार्कीनेटा, भंगरा र शंकरपोखरीका नागरिकहरुलाई लक्षित गरेर शिविर राख्न लागिएको हो । शिविरमा नागरिकताको प्रमाण पत्र प्रदान गर्नु सहित प्रशासनबाट दिईने सेवाहरु नागरिकताको प्रतिलिपि, पेन्सन सिफारिस, दलित र जनजाति प्रमाणित गर्ने काम पनि गरिने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।
यसैगरी, सोही शिविरमा जिल्ला निर्वाचन कार्यालय पर्वतबाट पनि टोली खटीने भएको छ । निर्वाचन कार्यालयको टोलीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता नगराएका तथा नयाँ नागरिकता लिनेहरुको पनि फोटो सहितको मतदाता नामावलीमा नाम समावेश गराउने छ ।