पर्वतमा बृहद एघारौ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव आयोजना - News site from Nepal

पर्वत– महिलाहरुको क्षमता र प्रतिभा उजागर गर्दै हरेक तहमा महिलाहरुको समान सहभागिता बढाउने उद्धेश्यले पर्वतमा एघारौ महिला महोत्सव आयोजना गरिएको छ ।
सदरमुकाम कुश्माबजारमा महिलाहरुको मात्रै व्यवस्थापनमा संचालित सामुदायिक रेडियो दिदीबहिनी पर्वतले गण्डकी प्रदेश स्तरीय एघारौ बृहद महिला महोत्सव आयोजना गरेको हो । रेडियो स्थापनाको नबौ बार्षिकोत्सवको अवसर तथा १०९ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आगामी फागुन १७ गतेदेखि २५ गतेसम्म महिला महोत्सव गर्ने भएको हो ।
यस अघि १० वटा महोत्सव रेडियोले गरिसकेको छ । रेडियोको दिगो संचालनका लागि आर्थिक संकलन गर्ने उद्धेश्य सँगै महिलाहरुको विकास र उन्नतीका लागि हरेक वर्ष महिला महोत्सव गर्ने गरिएको मुल संयोजक कल्पना चापागाईले जानकारी दिईन ।
महिलाहरुको प्रतिभाको उजागर र सीपको प्रदर्शन गर्ने मुख्य ध्येयले महोत्सव गर्न लागिएको चापागाईको भनाई रहेको छ । महोत्सबमा तेस्रो दिदीबहिनीकप राष्ट्रिय महिला भलिवल प्रतियोगिता, प्रथम दिदीबहिनी डान्स आईडल, खल्ला दौड प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, उत्कृष्ट ¥याली प्रदर्शन प्रतियोगिता, निःशुल्क स्वास्थ्य शिविर, विभिन्न राष्ट्रियस्तरका लोक गायक गायिकाको सांगितिक प्रस्तुती, हाँस्यव्यङ्गय प्रस्तुती रहने भएका छन् ।
त्यस्तैगरी जेष्ठ नागरिक, अनाथ बालबालिका, एकल महिला, अपाङ्गलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको रेडियोका अध्यक्ष समेत रहेकी महोत्सव मुल संयोजक कल्पना चापागाईले जानकारी दिईन । दश दिनसम्म संचालन हुने महोत्सवमा पशु प्रदर्शनी, कृषि प्रर्दशनी साथै महिला हरुलाई सम्मान गर्ने भएको छ ।
महिलाहरुको सहभागिता र क्षमतालाई सहर्ष स्विकार गर्न हिच्किचाउने हाम्रो समाजमा संघर्षको नयाँ आयाम ल्याउन प्रत्येक वर्ष महोत्सव गर्ने गरिएको चापागाईले जानकारी दिईन । महोत्सवलाई मनोरञ्जनमा मात्र सिमीत नराखि कला र संस्कृतिको संरक्षण र घरेलु बस्तुको प्रर्बद्धन हुने भएको छ ।
महोत्सवमा टपरी गाँस्ने प्रतियोगिता साथै खसी, बोका, बाख्रा र कुखुरा तथा कृषि प्रर्दशनीेको लागी आकर्षण पुरस्कारको व्यवस्था गरिएको छ । भने विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने पनि बताइएको छ । महोत्सव संचालनका लागि रु ३० लाख भन्दा बढि खर्च लाग्ने अनुमान गरिएको छ । भने एक लाख दर्शक भित्र्याउने लक्ष्य समेत राखिएको छ ।
महोत्सवको अवसरमा संचालित तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश रु २ लाख, रु १ लाख र रु ५० हजार पुरस्कार राशि प्रदान गरिने भएको छ भने प्रथम डान्स आईडलमा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश रु ५० हजार, ३० हजार र २० हजार पुरस्कार राशि तोकिएको छ । अन्य प्रतियोगितामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको रेडियोले जनाएको छ ।
भलिवल प्रतियोगितामा विभागिय टोली सहित गण्डकी प्रदेशका चर्चित भलिबल समुहहरुकोसहभागिता रहने भएको छ । महोत्सवमा विभिन्न प्रकृतिका १ सय ५० वटा स्टल राखिने भएको छ । महोत्सवका बारेमा आयोजकले बिहीवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!