पर्वत, ६ जेठ : पर्वत सदरमुकाम कुश्माबजारमा अधिकांस व्यावसायीहरुले उपभोक्ता संरक्षण ऐन अनुसार अनिवार्य रुपमा राख्नुपर्ने बस्तु तथा सेवाको मुल्यसूचि नराखेको पाईएको छ ।
व्यावसायीहरुले बस्तु तथा सेवाको मनोमानी मुल्य लिनका लागि मुल्यसुचि नराखेको पाईएको हो । कतिपय मुल्यसुचि राखेका व्यावसायीले पनि अद्यावधिक नगरी पसलका कुनै कुनामा झुण्डाएका छन् । सरकारले गत वैशाख २८ गतेदेखि जेठ तीन गतेसम्म मुल्य पारदर्शिता सप्ताह मनाएको छ । नागरिकका लागि अत्यावश्यकीय बस्तु तथा सेवाको मुल्यमा एकरुपता कायम गर्ने तथा उपभोक्ताहरुलाई ठगिनवाट जोगाउनका लागि सप्ताह अन्तर्गत बजार अनुगमनलाई तीब्रता दिईएको छ ।
होटल, रेष्टुरेण्ट, किराना पसल, स्टेशनरी, औषधी पसल, निर्माण सामाग्री पसल, माछा, मासुजन्य पसलहरु तथा अन्य सेवामुलक व्यावसायका पसलहरुमा अनिवार्य रुपमा मुल्यसुचि राख्नुपर्ने प्रावधान बमोजिम एकीकृत सेवा कार्यालय पर्वतले गरेको कुश्माबजारका पसलहरुको अनुगमनका क्रममा अधिकांस पसलहरुले मुल्यसुचि नै नराखि उपभोक्ताहरुलाई ठग्दै आएको पाईएको छ । भने पसलहरु अब्यवस्थित, असुरक्षित र मापदण्ड अनुसार समेत संचालन नगरेको पाईएको छ । पटक पटक अनुगमन गर्दापनि सुधार नगर्ने पसलहरुलाई कारबाही समेत हुन नसकेको राष्ट्रिय उपभोक्ता मञ्च पर्वतका अध्यक्ष सरिता भण्डारीले बताउनुभयो ।
मुल्यसूचि नटाँस्दा दैनिक उपभोग्य बस्तुको मुल्य समेत पसलैपिच्छे फरक फरक रहेको पाईएको छ । तेल, चीनी, चियापत्ती, मसला दालत, चामल, नुन, तरकारी, मासु जस्ता एकै प्रकृतिका सामाग्रीको मुल्यमा एकरुपता नदेखिएको हो । पसलहरुमा सरसफाईको कमी, एक उद्धेश्यले दर्ता गरिएको व्यावसायमा बहुउपयोगी सामाग्रीहरु राखेर व्यापार गरिएको, दर्ता, नविबरण, राजश्व भुक्तानी नगरिएका, पटक पटक सुधारका लागि चेतावनी दिइएपनि बेवास्ता गरिएका थुप्रै व्यावसायीहरुले खुलेआम ब्यापार व्यावसाय गरिरहेको उहाँले बताउनुभयो ।
सदरमुकामकै पसलहरुमा मुल्यसूँचि नराखिनु व्यावसायि र सम्वन्धिन निकायको गम्भीर लापरबाही भएको भण्डारीले जानकारी दिनुभयो । पटकौँ पटक अनुगमन गरिएपनि कुनै सुधार आउन नसकेको उहाँको भनाई रहेको छ । स्वास्थ्यका दृष्टिले सवैभन्दा संवेदनशिल क्षेत्र मानिने प्रदेश अस्पताल पर्वत वरिपरि संचालन गरिएको होटल तथा पसलहरु सवैभन्दा अब्यवस्थित र भद्रगोल भेटिएका थिए ।

एकीकृत सेवा कार्यालय पर्वतका सुचना अधिकारी भिमप्रसाद अर्यालले अनुगमनका क्रममा व्यावसायीहरुलाई आवश्यक प्रकृया, मापदण्ड र सरसफाई कायम गरेर संचालन गर्न अनुरोध गरिएको बताउनुभयो । कारबाहीनै गर्नुभन्दा सुधार गर्ने मौका दिइएको बताउँदै अझै प्रभावकारी रुपमा नियमित अनुगमन र निरिक्षण गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय स्थानीय तहहरुलाई बजार व्यवस्थित गर्ने अधिकार भएपनि ध्यान दिन नसकेको गुनासो गर्नुभयो ।
पर्वत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कमल जिसीले उद्योगी, व्यावसायीलाई मुल्यसुचि लगायत पसलहरु व्यवस्थित रुपमा संचालन गर्न आग्रह गर्दै आएपनि अटेर गरेको बताउनुभयो । लाखौ, करोडौँ रुपैया लगानी गरेर संचालन गरिएको व्यापार, व्यावसायलाई व्यवस्थित बनाउने दायित्य स्वयं संचालककै भएपनि लापरबाही गरेको पाईएको उहाँको भनाई छ । उहाँले संघमार्फत मुल्यसुचि प्रकाशन गरेर वितरण गर्नेबारे छलफल भैरहेको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार व्यावसायिक स्थलमा उपभोक्ताले प्रष्ट देखिनेगरी बस्तु तथा सेवाको अद्यावधिक मुल्य सूचि अनिवार्य रुपमा सार्वजनिक गरी राख्नुपर्ने कानूनी व्यवस्था रहेको बताउँदै पहिलो चरणको अनुगमनमा मुल्यसूचि राख्न अनुरोध गरिएको र फेरी अर्कोपटक जाँदा पनि नराखेको पाईएमा आवश्यक कानूनी कारवाही गरिने चेतावनी दिनुभयो ।
मुल्य पारदर्शिता सप्ताह अन्तर्गत एकीकृत विकास कार्यालय, भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वत र जिल्ला कृषि विकास कार्यालयले पनि मासुजन्य, कृषिजन्य र एग्रोभेट जन्य पसलहरुको अनुगमन गरेका थिए । कुश्माबजार मात्र नभई वारीबेनी, मिलनचोक, पातीचौर, डिमुवा, हुवास, फलेवास लगायतका प्रमुख बजारका व्यावसायीले पनि मुल्यसुचि राखेको नपाईएको हो ।






