पर्वत, ३ जेठ : पर्वतमा मदन स्मृति पुस्तकालय संचालनमा आएको छ । ३३ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा पुस्तकालय संचालनमा ल्याईएको हो ।
पुस्तकालयको पुर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरी र नेपाल कम्युनिष्ट पार्टी पर्वतका संस्थापक तोयानाथ चालिसेले विभिन्न विधाका पुस्तकहरु हस्तान्तरण गरेर आईतवार विहान शुभारम्भ गर्नुभएको हो ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आम नागरिक, राजनीतिक दलका नेता कार्यकर्ताहरुमा हराउँदै गएको पठन संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले पुस्तकालय स्थापना गरिएको हो । जिल्ला सदरमुकाम कुश्मामा रहेको पुरानो गुप्तेश्वर पुस्तकालय बन्द भैसकेको अवस्थामा नेकपा एमाले पर्वतले पहिलोपटक पुस्तकालय स्थापना गरेको हो । सदरमुकाम कुश्माबजारको मैत्रीचोकमा रहेको नेकपा एमाले पर्वतको आफ्नै कार्यालयमा पुस्तकालय स्थापना गरिएको एमाले पर्वतका अध्यक्ष गोबिन्द पहाडीले जानकारी दिनुभयो ।
पुस्तकालयमा राजनीति, कानून, अर्थशास्त्र, इतिहास, धर्म संस्कृति, विज्ञान, कला, प्रकृति, विचार, उपन्यास, सामान्य ज्ञान, विभिन्न अभिलेख तथा कृति लगायत नेपाली साहित्यका सवै विधाका पुस्तकहरु राखिएको छ । पुस्तकालयमा झण्डै तीन हजार पुस्तक राखिएको र थप संकलनको कार्य समेत भैरहेको नेकपा एमाले पर्वतका अध्यक्ष गोबिन्द पहाडीले जानकारी दिनुभयो । यसलाई जिल्लाकै साझा पुस्तकालयको रुपमा विकास गरिने समेत पहाडीको भनाई रहेको छ ।
सामाजिक सञ्जाल र सतही सूचनाका आधारमा धारणा बनाउने, नेता तथा कार्यकर्ताहरु तथ्यमा आधारित भएर बिचार दिन नसक्ने, बहकाउमा बोल्ने जस्तो अहिलेको अवस्थामा परिवर्तन गर्नका लागिनै पुस्तकालयको आवश्यकता ठानेर एमालेले आफ्नै श्रोतवाट स्थापना गरेको उहाँको भनाई छ । ‘यहाँ पार्टी कार्यकर्तादेखि जुनसुकै दलमा आस्था राख्ने हुन् वा अध्ययनमा रुची राख्नेहरुका लागि चौविसै घण्टा सेवा उपलव्ध गराईने छ’ अध्यक्ष पहाडीले भन्नुभयो ।
राजनीति गर्ने व्यक्ति होस् वा अन्य जुनसुकै पेशा व्यावसाय गर्ने व्यक्तिका लागि पनि अध्ययन र अनुसन्धान अनिवार्य आवश्यकता हो । जवसम्म गहिरो अध्ययन र अनुसन्धान गर्न सकिदैन वा विचारले भरिपुर्ण हुन सकिदैँन तबसम्म कुनैपनि क्षेत्रमा सफलता प्राप्त गर्न नसकिने भएकाले अध्ययनतर्फ नागरिकलाई प्रेरित गर्नका लागि पुस्तकालय स्थापना गरिएको एमाले पर्वतका सचिब सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो ।
पुस्तकालय शुभारम्भलाई सम्वोधन गर्दै पुर्व मन्त्री तथा एमाले केन्द्रीय सदस्य पदम गिरीले सरकारमा रहेका र बाहिर रहेकाहरुको सम्पत्ती छानविनका लागि संसदीय छानविन समिति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले राश्वपाले जनताले दिएको मतको कदर गर्न नसक्ने बताउँदै प्रतिपक्षमा रहेका दलहरुले निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कम्युनिष्ट पार्टीका संस्थापक तोयानाथ चालिसे, नेताहरु मेघनाथ सुवेदी, जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक, राजु पौडेल लगायतले सम्वोधन गर्नुभएको थियो ।
गोबिन्द पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष बिमल लामिछाने र संचालन सचिब सुवारचन्द्र पौडेलले गर्नुभएको थियो ।






