पर्वत– नेपाल सरकारले यस वर्षदेखि गत वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म मनाईरहेको मुल्यमा पारदर्शिता सप्ताह अन्तर्गत शनिवार पर्वतका विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको छ ।
बजारमा कृषि जन्य बस्तुको अवस्था, मासुजन्य बस्तु तथा कृषि तथा भेटरिनरीका बिऊ, बिजन, विषादी र बस्तुभाउका औषधीहरुको अवस्था, मुल्यसुचि र गुणस्तरीयता परिक्षण गर्ने उद्धेश्यले बजार अनुगमन गरिएको हो । जिल्लाको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कुश्मा नगरपालिकाका पसलहरुमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वत र कृषि बिकास कार्यालय पर्वतको संयुक्त आयोजनामा अनुगमान गरिएको हो ।
तीनवटै पालिकामा गरी मासु पसल ९ वटा, माछा पसल एक वटा, भेटेरीनरी सेन्टर पाँचवटा, डेरी उद्योग तीनवटा र कृषि बीउ केन्द्र/ बीउ भण्डार तथा एग्रो सेन्टर तीनवटा गरी जम्मा २० वटामा अनुगमन गरिएकोे भेटेरिनरी अस्पतालका प्रमुख सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा अधिकांश पसलहरूमा मूल्यसुची नराखिएको, सरसफाइमा ध्यान नदिईएको, पसल नविकरण नगरिएको, बिषादी र अन्य सामानहरू एकै ठाउँमा राखेर बिक्रि वितरण गरिएको, बिषादी बिक्रेताले खतराको चिन्हहरु नराखेको,सबै प्रकारको मासुहरू एउटै फ्रीजमा राखिएको जस्ता समस्याहरु देखिएका छन् । यसैगरी सेतो टायलहरू लगाउन, दाउ र अचानो छुट्टाछुट्टै राख्न, हात धुनको लागि बेसिन सहितको धारा राख्नु लगायतका सुझावहरु दिईएको छ ।
सप्ताहको अवसरमा पहिलोपटक गरिएको बजार अनुगमनमा समस्या देखिएका पसलहरुमा सुधार गर्नका लागि एक साताको समयावधि दिईएको छ । तत्काल मुल्य सुचि राख्न, मासु पसलहरुमा आवश्यक पुर्वाधार निर्माण गर्न, उद्योग व्यावसाय दर्ता, तथा नविकरण, बिषादी वितरणमा आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सुधार नभएमा अर्को पटकको अनुगमनमा कारबाही गर्ने चेतावनी समेत दिईएको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल पर्ने खालका कुनैपनि गतिविधि नगर्न आग्रह गरिएको कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल लामिछानेले बताउनुभयो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि भरत सापकोटा, पत्रकार महासंघका अध्यक्ष लक्ष्मण सापकोटा, उपभोक्ता मन्चका अध्यक्ष सरिता भण्डारी, पर्वत उद्योग बाणिज्य संघका महासचिब खड्गप्रसाद खनाल लगायत विभिन्न पालिकाका पशु तथा कृषि शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । जिल्लाका अन्य पालिकामा रहेका बजार तथा पसलहरुमा पनि अनुगमन गरिने कार्यालयले जनाएको छ ।
यस बाहेक जिल्ला प्रशासन कार्यालय पर्वत, एकीकृत सेवा कार्यालय र सम्वन्धित पालिकाहरुले समेत मातहतका पसलहरु अनुगमनको तयारी गरेका छन् ।






