पर्वतका सरकारी कार्यालय र पालिकाहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न  - News site from Nepal
पर्वत– पर्वतका सरकारी कार्यालय तथा स्थानीय तहहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिको आयोजनामा शुक्रवार कुश्मामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्लाका झण्डै दुई दर्जन सरकारी कार्यालय र सातवटा स्थानीय तहका कार्यालय प्रमुख तथा प्रशासकिय अधिकृतले चालु आर्थिक वर्षको चैत्र मसान्त सम्म सम्पन्न भएका योजना, कार्यान्वयमा गएका योजना, समस्या, चुनौती र आगामी लक्षका बारेमा प्रस्तुती राख्नुभएको थियो ।
प्रस्तुतीका क्रममा निति नियमको अभाव तथा अस्पष्टता, कर्मचारी अभाव, सिमीत श्रोत र साधन, जग्गा विवाद, नागरिकहरुको एकरुपताको अभाव लगायतका समस्याहरु औल्याईएको छ । यसका बाबजुत पनि आर्थिक र भौतीक प्रगति भने सन्तोषजनक पाईएको छ ।
जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले राज्यबाट प्रवाह हुनुपर्ने सेवालाई चुस्त र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले हरेक योजनाहरु गुणस्तरीय र समयमै सम्पन्न गर्न आग्रह गर्दै कुनै समस्या उत्पन्न भएमा तत्काल समाधान गर्नका लागि आवश्यक समन्वय र सहकार्य गर्न आग्रह गर्नुभयो । पारदर्शिता र सुशासन अहिलेको प्रमुख उद्धेश्य रहेको बताउँदै यसमा कर्मचारी र जनप्रतिनिधिहरु जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले संघ, प्रदेश र स्थानीय तहहरुले प्रस्तुत गरेका कार्यक्रमहरु सन्तोषजनक देखिएको बताउँदै निर्धारित लक्ष र उद्धेश्य प्राप्तीका लागि सरकारको निर्देशन, ऐन, ऐन नियमको पालना गर्दै अघि बढ्न सुझाव दिनुभएको छ । उहाँले जिल्लाका कुनैपनि निकायमा पर्ने समस्याहरुको समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विकले लक्षित बर्गसम्म योजना तथा कार्यक्रमहरुको पहुँच पुग्नुपर्नेमा जोड दिनुभयो । अहिलेपनि पहुँचवाला, र भनसुनको आधारमा कार्यक्रम तथा योजनाहरु वितरण भैरहेको गुनासो आएको बताउँदै यस्ता कार्यलाई निरुत्साहन गर्न आग्रह गर्नुभयो । उहाँले जिल्लाको समग्र विकासका लागि सातै स्थानीय तह र अन्य सरकारी निकायसँग समन्व्य र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मोदी गाउँपालिकका अध्यक्ष हिरादेवी शर्मा, कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल, पैंयू गाउँपालिकाका उपाध्यक्ष यामकुमारी राना, जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, महाशिला गाउँपालिकाका उपाध्यक्ष धनसोभा विक लगायतका जनप्रतिनिधिहरु, उद्योग बाणिज्य संघ, पत्रकार महासंघ, नागरिक समाजका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सोम जिसीले स्वागत र कार्यक्रमबारे जानकारी जिल्ला समन्वय अधिकारी बद्री तिवारीले गराउनुभएको थियो । दुई दिनका लागि निर्धारण गरिएको कार्यक्रम एकैदिन सकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!