मासुको स्वस्थता कायम गर्न मासु जाँच ऐनबारे सचेतना - News site from Nepal
मासुको स्वस्थता कायम गर्न मासु जाँच ऐनबारे सचेतना

पर्वत — मासुको स्वस्थता, स्वच्छता तथा गुणस्तर कायम गर्दै उपभोक्तालाई सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले पर्वतमा मासु जाँच ऐनसम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतको आयोजनामा कुश्मामा सञ्चालनमा रहेका मासु व्यवसायी तथा पशु बधस्थल सञ्चालकसँग अन्तरक्रिया गरिएको हो। मासु जाँच ऐन, २०५५ को प्रभावकारी कार्यान्वयनसँगै बधस्थल तथा मासु बिक्री–वितरणमा तोकिएको मापदण्ड पालना गराउने विषयमा कार्यक्रम केन्द्रित थियो।

कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख डा. गणेश केसीले मासु जाँच ऐन, २०५५ ले तोकेको कार्यविधि, मापदण्ड, बधस्थलको वर्तमान अवस्था तथा सुधार गर्नुपर्ने पक्षबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले ऐन कार्यान्वयनमा देखिएका चुनौती तथा उपभोक्तालाई सुरक्षित र स्वस्थ मासु उपलब्ध गराउन अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउनुभयो। नयाँ ऐन कार्यान्वयमा आईसकेपछि अहिले संचालन भएका वधशाला र मासु पसलहरुले पुनः नयाँ मापदण्ड निर्माण र दर्ता प्रकृयामा जानुपर्ने उहाँको भनाई छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखराका डा. राजेश चौधरी र डा. सुजन थापाले पशु तथा पन्छी बधस्थलका लागि आवश्यक पूर्वाधार र स्वास्थ्यसम्बन्धी मापदण्डबारे व्यवसायीलाई जानकारी गराउनुभयो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका प्रमुख सुरेशकुमार श्रेष्ठले जिल्लामा रहेका चौपाया तथा पन्छी बधस्थल, माछा प्रशोधनको अवस्था तथा सरोकारवाला निकायको संयुक्त अनुगमनबाट भइरहेका सुधारका प्रयासबारे जानकारी दिनुभयो।

अन्तरक्रियामा पशु चिकित्सकको प्रत्यक्ष उपस्थितिमा मात्र पशु तथा पन्छीको बध गर्नुपर्ने, बधपछि छालारहित बनाई लेबलिङ तथा प्याकेजिङ गरेर मात्र मासु बिक्री–वितरण गर्नुपर्ने लगायतका कानुनी तथा स्वास्थ्यसम्बन्धी प्रावधानबारे व्यवसायीलाई सचेत गराइएको थियो। बधस्थललाई निर्धारित मापदण्डअनुसार व्यवस्थित बनाउँदै मासुको स्वच्छता र गुणस्तर कायम गर्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा कुश्मा बजार क्षेत्रका ५० भन्दा बढी मासु व्यवसायी तथा एक दर्जनभन्दा बढी बधस्थल सञ्चालकको सहभागिता थियो। कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकको प्रमुख आतिथ्यतामा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल, जिल्ला समन्वय अधिकारी बद्री तिवारी, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख डा. किरण पाण्डेलगायतको सहभागिता थियो।

मासु मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्य पदार्थ भएकाले यसको उत्पादनदेखि उपभोगसम्म स्वच्छता र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। मासु जाँच ऐनको प्रभावकारी कार्यान्वयनसँगै नियमित अनुगमन, व्यवस्थित बधस्थल र व्यवसायीको जिम्मेवार भूमिकाले उपभोक्ताले सुरक्षित तथा गुणस्तरीय मासु पाउने वातावरण निर्माण हुने अपेक्षा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका प्रमुख सुरेश कुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!