पर्वत २५ वैशाख : लामो समय वैदेशिक रोजगारीको सिलसिलामा प्रवासमा पसिना बगाएका दक्षिण पर्वतको पैयूँ–५ का कृषक नारायण प्रसाद भुर्तेल यतिबेला आफ्नै जन्मभूमिमा सफल उद्यमीका रूपमा चिनिन थाल्नुभएको छ ।
“स्वदेशमै केही गर्नुपर्छ“ भन्ने दृढ संकल्पका साथ गाउँ फर्किएर व्यावसायिक भैँसी पालन सुरु गर्नुभएका भुर्तेललाई कृषि विकास कार्यालय, पर्वतले ’उत्कृष्ट कृषक’ सम्मान प्रदान गरेको छ ।
हाल भुर्तेलको फार्ममा १५ वटा उन्नत जातका भैँसी रहेका छन् । वैदेशिक रोजगारीबाट फर्केपछि कृषि र पशुपालनलाई व्यावसायिक रूपमा अगाडि बढाएका कारण उनलाई जिल्लाकै नमुना कृषकको रूपमा सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै कृषि विकास कार्यालय, पर्वतका प्रमुख गोपाल शर्मा लामिछानेले
नारायण भुर्तेलले विदेशको अनुभवलाई स्वदेशको माटोमा जोड्नुभएको बताउनुभयो । १५ वटा भैँसी पालेर उहाँले देखाउनुभएको यो सक्रियताले पर्वतलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन ठूलो टेवा पुग्ने उहाँको भनाई छ ।
त्यस्तै कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले “वैदेशिक रोजगारीबाट फर्केर आफ्नै ठाउँमा उद्यमी बन्नु चानचुने कुरा नभएको बताउनुभयो । भुर्तेलको यो मेहेनतले ’श्रमको सम्मान’ गर्ने संस्कृतिको विकास गरेको छ । उहाँ अन्य युवाहरूका लागि मार्गदर्शक बन्नुभएको उहाँको भनाई छ ।
जिल्ला समन्वय समिति, पर्वतका प्रमुख विष्णुराम वि.क.ले जिल्लाको गौरव र कृषि क्रान्तिका लागि भुर्तेल जस्ता इमानदार कृषकको खाँचो रहेको बताउनुभयो । उहाँको व्यवसाय विस्तारमा राज्यका तर्फबाट आवश्यक समन्वय र प्रोत्साहन सधैं रहने बिकले बताउनुभयो ।
उत्कृष्ट कृषकको सम्मान पाएपछि उत्साहित हुँदै नारायण प्रसाद भुर्तेलले भन्नुभयोः “लामो समय विदेशमा अरूको काम गरियो, तर ढिलो गरी बुझियो कि आफ्नै माटोमा पसिना बगाउनुको छुट्टै आनन्द छ । अहिले १५ वटा भैँसीको स्याहारमा व्यस्त रहँदा आत्मसन्तुष्टि मिलेको छ । यो सरकारी सम्मानले मलाई कृषि पेशामा थप जिम्मेवार र उत्साहित बनाएको छ । आगामी दिनमा यसलाई अझै विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
भुर्तेल सहित बिहादी गाउँपालिकाका ऋषि भुसाललाई प्रदान गरिएको यो सम्मानले वैदेशिक रोजगारीमा रहेका र फर्किएका युवाहरूमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।






