पर्वत १८ साउन : केही वर्षअघिसम्म परम्परागत खेती, सिँचाइको अभाव, बजारको अनिश्चितता र आधुनिक प्रविधिको कमीका कारण अपेक्षित आम्दानी लिन नसकेका बागलुङ र पर्वतका कृषक अहिले व्यावसायिक र बजारमुखि उत्पादनतर्फ आकर्षित भइरहेका छन् ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई बागलुङ अन्तर्गत सञ्चालन भएका जोन, उद्यमशीलता, यान्त्रिकीकरण, सिँचाइ तथा मूल्य श्रीङ्खला विकासका कार्यक्रमले यी दुई जिल्लाको कृषि क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको हो । कार्यक्रम मार्फत कृषकहरुलाई अनुदान, प्राविधिक सहयोग तथा बिऊबिजन, यान्त्रिक उपकरण लगायत प्रशोधन तथा प्याकेजीङ लगायतका सहयोग पाएपछि कृषकहरु उत्पादनमा केन्द्रीत हुन थालेका हुन् ।
कार्यक्रम कार्यान्वयन एकाइ बागलुङका अनुसार आर्थिक वर्ष २०८२/८३ मा खेतीको क्षेत्र विस्तारदेखि उत्पादन, प्रशोधन, बजारीकरण र कृषिमा आधारित उद्यम विकाससम्म सकारात्मक उपलब्धिहरु देखिएका हुन् ।
परियोजना सुरु भएदेखि धान खेतीको क्षेत्रफल छ सय ५० हेक्टरबाट बढेर एक हजार पाँच सय ४२.५ हेक्टर पुगेको छ, जुन एक सय ३७ प्रतिशतभन्दा बढी वृद्धि भएको हो । मकै खेती पाँच सय ८३ हेक्टरबाट सात सय ९८ हेक्टर, आलु पाँच सय ४४.६ हेक्टरबाट छ सय १० हेक्टर, तरकारी पाँच सय ७० हेक्टरबाट छ सय ५५ हेक्टर तथा अलैंची खेती तीन सय ३० हेक्टरबाट तीन सय ४७ हेक्टर पुगेको छ । बाख्रापालनतर्फ २६ हजार छ सय ७५ रहेको संख्या बढेर ४१ हजार सात सय २ पुगेको ईकाई प्रमुख अर्जुनप्रकाश सुवेदीले जानकारी दिए ।
कृषि तथा पशुपालनमा उत्पादनमा पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको क्रप कटिङका आधारमा धानको उत्पादकत्व प्रतिहेक्टर चार दशमलब मेट्रिक टन पुगेको छ, जुन राष्ट्रिय औसतभन्दा बढी हो । आलुको उत्पादकत्व प्रतिहेक्टर २५.१ मेट्रिक टन पुगेको छ, जबकि राष्ट्रिय औसत १६.६८ मेट्रिक टन मात्रै रहेको पाईएको छ ।
कृषिमा आधुनिकीकरणको प्रभाव सिँचाइ र यान्त्रिकीकरणमा समेत देखिएको छ । गत वर्ष मात्रै ६४ वटा साना सिँचाइ आयोजना सम्पन्न हुँदा थप ८० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । दुई सय ३० वटा कृषि यन्त्र तथा उपकरण वितरण भएपछि खेतीको लागत घट्नुका साथै श्रम अभावको समस्या कम भएको कार्यक्रमले जनाएको छ ।
तरकारी खेती विस्तारका लागि ४९ वटा स्थायी प्लास्टिक टनेल निर्माण, बाख्रापालन प्रवद्र्धनका लागि सात आधुनिक खोर निर्माण, ३० वटा खोर सुधार तथा ४६ वटा उन्नत जातका बोका वितरण गरिएको छ । प्याज, चैते धान, मासिना धान, अलैंची, भर्मी कम्पोष्ट, मौरीपालन, च्याउ उत्पादन, किवी प्रशोधन र बीउ उत्पादनजस्ता कार्यक्रमले कृषकलाई सहजता प्रदान गरेको कार्यक्रम ईकाई बागलुङका प्रमुख सुवेदीले जानकारी दिए ।
कृषिलाई उत्पादनमै सीमित नराखी उद्यमसँग जोड्ने प्रयास पनि गरेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा २० कृषि तथा पशुपन्छी उद्यमलाई सहयोग गरिएको छ । तीमध्ये चार नयाँ उद्यम स्थापना भएका छन् भने १६ उद्यमको क्षमता विस्तार गरिएको छ । लेयर्स कुखुरापालन, बाख्रापालन, तरकारी, च्याउ, किवी, माछापालन र दुग्ध व्यवसायमा अनुदानले कृषकको लगानी र उत्पादन क्षमता दुवै बढाएको उनले बताए ।
कार्यक्रम मार्फत अनुदान पाएको जलजला कृषि तथा पशुपन्छी फर्मले चार लाख रुपैयाँ अनुदानबाट पाँच हजार क्षमताको लेयर्स कुखुरा फार्म विस्तार गरेको छ । अण्डा उत्पादन पूर्ण क्षमतामा पुगेपछि दैनिक करिब ५८ हजार रुपैयाँ कारोबार र २२ हजार रुपैयाँसम्म बचत गर्ने लक्ष्य राखिएको उक्त फर्मको छ । त्यस्तै श्री बहुउद्देश्यीय मणिचन्द्र कृषि तथा पशुपन्छी फर्मले स्थायी टनेल र ड्रिप सिँचाइ विस्तारपछि मासिक कारोबार एक लाख रुपैयाँभन्दा माथि पुर्याउने लक्ष्य लिएको छ ।
कृषि उत्पादनसँगै प्रशोधन उद्योगको विकासले पनि कृषकलाई बजारसँग जोडेको छ । कार्यक्रमको सहयोगमा चामल, मह, कफी, किवी, अचार, सातु, स्थानीय रैथाने बाली तथा अन्य कृषिजन्य उत्पादनको प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्ने उद्योग सञ्चालनमा आएका छन् । यसले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि हुनुका साथै रोजगारी सिर्जना र बजार विस्तारमा टेवा पुगेको कार्यक्रम प्रमुख सुवेदीले बताए ।
परियोजना सुरु भएदेखि पाँच सय ६० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार, एक हजार दुई सय ७० कृषि यन्त्र वितरण, दुई सय ६८ वटा प्लास्टिक टनेल निर्माण, एक सय ६५ हेक्टरमा बीउ उत्पादन, एक सय ४० वटा बाख्रा खोर सुधार, २७ वटा आधुनिक खोर निर्माण, ९९.५ हेक्टरमा चक्लाबन्दी खेती तथा विभिन्न प्रशोधन र भण्डारण पूर्वाधार निर्माण भएका छन् । यसले कृषि उत्पादनसँगै कृषिको व्यवसायीकरण, यान्त्रिकीकरण र मूल्य शृङ्खला विकासलाई संस्थागत आधार दिएको छ ।
गत आर्थिक वर्षमा ६ करोड ८८ लाख एक हजार रुपैयाँ बजेटमध्ये ६ करोड आठ लाख ४८ हजार रुपैयाँ खर्च गरी ८८.४४ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ भने समग्र वार्षिक भारित प्रगति ९४.९३ प्रतिशत रहेको छ ।
प्रदेश र स्थानीय तहबीच समन्वयको कमी, अनुदान नीतिमा एकरूपताको अभाव, दुर्गम क्षेत्रमा प्राविधिक सेवा विस्तारको चुनौती तथा अनुगमनका लागि आवश्यक साधनको अभाव अझै समाधान गर्नुपर्ने विषयका रूपमा देखिएका छन् । कृषि क्षेत्रमा उत्पादन बढाउने मात्र होइन, कृषिलाई आधुनिक, व्यावसायिक र दिगो बनाउने लक्ष्यसहित सञ्चालन भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले बागलुङ र पर्वतका कृषकलाई निर्वाहमुखी खेतीबाट बजारमुखी कृषि उद्यमतर्फ डोर्याउन महत्वपूर्ण भूमिका खेलेको परियोजना कार्यान्वयन ईकाई बागलुङले जनाएको छ ।






