पर्वत, १७ साउन : उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ कुवापानीको पहाडबाट खसेको पहिरोले विभिन्न क्षेत्रमा पुर्याएको क्षति रोकथामका लागि तत्काल काम शुरु गरिने भएको छ ।
पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको नेतृत्वमा शनिवार स्थलगत निरिक्षणमा पुगेको टोलीले बस्ती तथा खेतीयोग्य जमिन संरक्षणका लागि तत्काल पहिरो नियन्त्रणको काम शुरु गर्ने भएको हो । अहिलेका लागि भु तथा जलाधार व्यवस्थापन कार्यालय र स्थानीय जलजला गाउँपालिकाले बजेट व्यवस्थापन गरी मुलघडेरी देखि तल्लो नेपाने सम्मको बस्ती तथा खेतीयोग्य जमिन संरक्षणको काम शुरु गरिने भएको हो ।
ठाउँठाउँमा ग्यावियन जाली लगाउने, बायोइन्जिनियरीङ, कम्पोजीट वाल तथा अन्य कम खर्चिलो बिधिका रोकथामका उपायहरु अपनाएर भदौ लगत्तै काम शुरु गरिने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । केहि दिन अघि प्रतिनिधि सभा सदस्य सागर भुसाल सहित विपद् व्यवस्थापन समितिको टोलीले गरेको पालिका निरिक्षणमा उक्त पहिरोले धेरै बस्ती र खेतीयोग्य जमिनमा क्षति पुगेको गुनासो आएपछि तत्काल रोकथामका लागि पहल गरिने भएको प्रजिअ पौडेलले बताउनुभयो ।

भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख शुम्भुकुमार मिश्रका अनुसार चालु आर्थिक वर्षमा सोहि पहिरोले क्षति पुराएको ऐतिहासिक आदिबराह ताल संरक्षणका लागि रु. १० लाख बिनीयोजन भएको तर पहिरो रोकथाम नभएसम्म ताल संरक्षण गरेर कुनै अर्थ नहुने भन्दै पहिरो रोकथामको योजना अघि बढाउने जानकारी दिनुभयो । अब तत्कालै लगत इस्टिमेट तयार गरेर स्थानीय उपभोक्ता मार्फत काम गरिने उहाँले जानकारी दिनुभयो ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले पालिकाकै सवैभन्दा ठुलो क्षति पुर्याएको यो पहिरो रोकथामका लागि आवश्यक बजेट बिनीयोजन गरेर काम अघि बढाउने जानकारी दिनुभयो । हिउँदमा समस्या नभएपनि वर्षायाममा वडा नं. २का धेरै बस्ती, जनजंगल र खेतीयोग्य जमिनमा क्षति पुर्याउने गरेको भन्दै उहाँले यो पहिरो नियन्त्रणका लागि पहिलो प्राथमिकता दिएर बजेट ब्यवस्थापन गरिने बताउनुभयो । पालिकको मात्र श्रोतले अपुग हुने भन्दै प्रदेश तथा संघीय सरकारसँग पनि बजेटका लागि पहल गर्ने उहाँको भनाई रहेको छ ।
कुवापानीको चिहानडाँडा पहाडबाट खसेको पहिरो लेदो बनेर बग्न थालेपछि सयौ रोपनी खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै ६ घरपरिवार समेत विस्थापित भएका थिए । पहिरो आसपासमा रहेका पाँच वटा बस्तीका एक सय भन्दा बढी घर जोखिममा परेका छन् । २०७९ साल असार ११ गते राती कुवापानीको चिहानडाडाबाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढ्दै गएको हो । पहिले सामान्य खोल्सो रहेको ठाउँमा अहिले दिर्घकालीन खोलानै बनेको छ । उक्त पहिरो रोकथाम तथा नियन्त्रणका विषयमा जिल्ला विपद व्यवस्थापन समितिबाट समेत निर्णइ गरि काम अघि बढाईने प्रजिअ पौडेलले जानकारी दिनुृभयो ।

जलजला–२ का वडा अध्यक्ष प्रकाश जिसीले पहिरोको कमेरे माटो बस्ती माथिको जंगलको मुलको पानीमा मिसिएर लेदो बनेर बगेपछि ठुलो क्षति पुगेको हो । जलजला– २ को मुलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुँदै कालीगण्डकी किनारमा रहेको म्याग्दीको गलेश्वर सम्म जोखिम बनाएको छ । स्थानीय पदमबहादुर कार्कीले तत्काल पहिरो नियन्त्रणको योजना अघि नबढाए ठुलो क्षति व्यहोर्नुपर्ने बताउनुभयो ।
स्थानीय डम्मरबहादुर खत्रीको सुन्तला बगैचा र बारी समेत बाढीले पुरेको छ । मुलघडेरीमा करिब ७० रोपनी खेत र बारी पहिरोको लेदोले पुरिएर क्षति पुगेको छ । यसैगरी नेपानमो ठुलो सुन्तला बगैचा पुरिनुका साथै बस्ती समेत जोखिमा परेको छ । नियन्त्रणको काम नहुँदा वर्षेनी क्षति हुने क्रम बढ्दै गएको स्थानीय बताउँछन् । वर्षाको समयमा रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको स्थानीय थलबहादुर बरुवालले बताउनुभयो । २०७२ सालको भुकम्प पछि यो पहाड चर्किन थालेको हो । यस अघि पनि उक्त स्थानका पाँच घरपरिवार विस्थापित भएका थिए । पहाडवाट लेदो नै बग्न थालेपछि हरेक वर्षायामको समयमा यहाँका नागरिक त्रसितपुर्ण अवस्थामा बस्दै आउनुपरेको छ ।
स्थलगत निरिक्षणमा जलजला वडा नंं. ४ का अध्यक्ष भरत जिसी, वडा नं. ५ का अध्यक्ष तिलक जिसी, भु तथा जलाधार व्यवस्थापन कार्यालय, जलश्रोत तथा सिचाई विकास डिभीजन कार्यालयका प्राविधिक, अन्य जनप्रतिनिधि, पत्रकार तथा स्थानीयवासीहरुको पनि सहभागिता रहेको थियो ।






