पर्वत- दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानी खेती प्रवद्र्धन कार्यक्रम संचालन गरेको छ ।
स्वाद र स्वास्थ्यको दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले कृषकहरुलाई अनुदान दिएर खुर्सानी खेतीमा आकर्षित गरेको हो । स्थानीय कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित अकबरे खुर्सानी (डल्ले खुर्सानी) उत्पादन तथा प्रवद्र्धन कार्यक्रम संचालन गरिएको पैंयूँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन गैरेले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष बि.सं. २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गाउँपालिकाको कृषि शाखामार्फत कृषक समूह, कृषि सहकारी तथा निजी कृषि फर्महरूलाई आवश्यक अनुदान दिएर अकबरे खुर्सानी खेती विस्तार गर्न थालिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले सूचना प्रकाशन पछि इच्छुक कृषकहरुलाई प्राविधिक मूल्यांकनपछि चार वटा कृषि फर्म छनोट गरी कार्यक्रम अगाडि बढाइएको छ । छनोटमा परेका फर्महरूलाई आवश्यक प्राविधिक सहयोग, तालिम, बीउबिजन, मलखाद तथा अनुदान प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत गैरेले बताउनुभयो । उहाँका अनुसार पहिलोपटक वडा नं. ६ को हाडिकखर्क कृषि तथा पशुपंक्षी फर्म, वडा नं. ३ को बेउलवास कृषि तथा पशुपंक्षी फर्म, वडा नं. ४ को वेशीथोक कृषि तथा पशुपंक्षी फर्म र वडा नं. ३ मै रहेको कानूङ कृषि तथा पशुपंंक्षी फार्मलाई अनुदान दिएर ठुलो क्षेत्रफलमा अकबरे विस्तार गरिने भएको छ ।
हरेक फर्मले कम्तीमा दुई रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको व्यावसायिक खेती विस्तार गर्नुपर्ने प्रावधान राखिएको छ । अकबरे खुर्सानी नेपालका पहाडी जिल्लामा पाइने अत्यन्तै महत्वपूर्ण नगदे बाली हो । यसको तीखोपन, सुगन्ध र स्वादका कारण यो देशभित्र मात्र नभई बाह्य बजारमा पनि उच्च माग रहेको छ ।
गाउँपालिका भित्र र बाहिरपनि अकबरे खुर्सानीको माग अत्याधिक आउने र मुल्य समेत पर्याप्त पर्ने भएकाले कृषकहरुको जीवनस्तर सुधार्न सहयोग मिल्ने देखेर अकबरे खुर्सानी खेतीमा कृषकलाई आकर्षित गर्न खोजीएको पैंयू गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो । अन्य सामान्य खुर्सानीको तुलनामा यसको मूल्य धेरै हुने भएकाले किसानका लागि यो आकर्षक आम्दानीको स्रोत बन्ने उहाँको भनाई छ ।
सानो क्षेत्रफलमा समेत राम्रो आम्दानी दिन सक्ने भएकाले साना किसानलाई पनि व्यावसायिक खेतीतर्फ लाग्न पालिकाले आग्रह गरेको छ । पछिल्लो समय बजारमा अकबरे खुर्सानीको मूल्य स्थिर र उच्च रहने गरेको देखिएकाले यसको उत्पादन विस्तारलाई दीगो आयआर्जनको आधारका रूपमा हेरिएको अध्यक्ष ठकुरीले बताउनुभयो ।
पोषणका हिसाबले पनि अकबरे खुर्सानी निकै महत्वपूर्ण मानिन्छ । यसमा भिटामिन ‘सी’, ‘ए’ र ‘ई’ जस्ता आवश्यक पोषक तत्व प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्याउने कृषक हाडिकखर्क कृषि तथा पशुपंक्षी फर्मका संचालक यामबहादुर क्षेत्रीले बताउनुभयो ।
यसमा पाइने क्याप्साइसिन तत्वले पाचन प्रणाली सुधार गर्ने, रक्तसञ्चार सन्तुलित राख्ने तथा केही दीर्घरोगको जोखिम कम गर्न मद्दत गर्ने विश्वास गरिएको छ । त्यसैले यो केवल मसला मात्र नभई स्वास्थ्यका दृष्टिले पनि उपयोगी बालीका रूपमा रहेको क्षेत्री बताउनुहुन्छ ।
तरकारी, अचार, चटनी तथा विभिन्न परिकारमा यसको प्रयोगले नेपाली स्वादलाई अझ विशेष बनाउने गरेको छ । यसले स्थानीय पहिचान र परम्परालाई समेत संरक्षण गरेको छ । अकबरे खुर्सानी खेतीमा रोग, कीरा तथा मौसमीय जोखिम जस्ता चुनौतीहरू पनि कम हुने बताईएको छ ।
पैंयू गाउँपालिकाले कृषि आधुनिकीकरण, नगदे बाली प्रवद्र्धन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई केन्द्रमा राख्दै यस्तो कार्यक्रम अघि बढाएको जनाएको छ । स्थानीय तहको यस पहलले कृषकलाई परम्परागत खेतीबाट व्यावसायिक तथा प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्दै उत्पादन वृद्धि र आम्दानी विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।






