पर्वत– पर्वतमा गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।
जिल्ला खेलकुद बिकास समिति पर्वतको आयोजनामा दुईदिनसम्म संचालन हुने प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै शर्माले खेल क्षेत्रको विकास र विस्तारका लागि गण्डकी प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु अघि सारेको बताउनुभयो । खेल पुर्वाधार विस्तार, खेलाडीलाई प्रोत्साहन र आवश्यक तालिमहरु प्रदान गर्नका लागि सरकारले काम गर्दै आएको बताउँदै अब खेल गतिविधिको अभावमा खेलाडीहरु पलायन हुनुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । खेल क्षेत्रवाटनै प्रदेशको आर्थिक समृद्धिमा योगदान पुग्ने खालका कार्यक्रमहरु संचालन गर्न उहाँले आग्रह गर्नुभएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ । भोली सम्म संचालन हुने प्रतियोगितामा विभिन्न ५ ओटा विधामा खेलहरू भैरहेका छन् ।
पुरुष डबल, महिला डबल, मिक्स डबलमा प्रथम, द्वितीय र तृतीय हुने टोलीले पुरस्कार स्वरूप क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै पुरुष एकल र महिला एकल विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले पुरस्कार स्वरूप क्रमशः ६ हजार, ४ हजार र २ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जंगबहादुर पुन बुद्धको अध्यक्षता तथा स्वागतमा सम्पन्न उद्घाटन कार्यक्रममा मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछाने, कुश्मा नगरपालिकाका विभिन्न वडा अध्यक्षहरु, पत्रकार तथा खेलाडीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन जिल्ला खेलकुद विकास समितिका सदस्य सन्तोष पौडेलले गर्नुभएको थियो ।






