पर्वत- सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउनका लागि मध्यपहाडी राजमार्गको नयाँपुल–हेम्जा खण्डमा सुरुङमार्ग बनाउने भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा नयाँपुल–हेम्जा सरुङमार्गको काम अघि बढाईने उल्लेख गर्नुभएको हो । सम्भाव्यता अध्ययन सम्पन्न भैसकेका सुरुङमार्ग निर्माणका लागि स्रोत सुनिश्चित गर्ने र निर्माण कार्यलाई अघि बढाउने योजना अन्तर्गत नयाँपुल–हेम्जा पनि प्राथमिकतामा परेको हो ।
योसँगै अध्ययन सम्पन्न भएका सुरुङमार्गहरू दुम्कीबास–बर्दघाट, खुर्कोट–चियाबारी, बबई–छिन्चु, मझिमटार–शक्तिखोर, कुलेखानी–भिमफेदी र धरान–लेउतीको निर्माणका लागि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढाइने बजेटमा उल्लेख गरिएको छ । यसैगरी टोखा–छहरे, शिवपुर–भालुवाङ, रानीघाट–भुरिगाउँ, दोलालघाट–चर्नावती र हात्तिसार–बबई सुरूङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिने पनि बजेटमा उल्लेख गरिएको छ ।
पोखरा–बागलुङ सडक खण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङ्गमार्ग पनि प्राथमिकतामा परेपछि धौलागिरि क्षेत्रका बासिन्दा उत्साहित बनेका छन् । यस अघि उक्त सुरुङमार्गको आर्थिक वर्ष वि.सं. २०७९/०८० को बजेटमै स्वीकृति प्रदान गरि सम्भाव्यता अध्ययन पुरा भएको थियो ।
साविक धौलागिरि अञ्चलका चार जिल्लाको राष्ट्रिय राजमार्ग र प्रदेश राजधानीसँग प्रत्यक्ष जोड्ने एकमात्र सडकको रुपमा रहेको पोखरा–बागलुङ सडकमा सुरुङमार्ग बनाउन विगत एक दशकदेखि पर्वत उद्योग बाणिज्य संघले पहल गर्दै आएको थियो ।
धौलागिरि क्षेत्र पर्यटकीय हिसावले अत्यन्त महत्वपूर्ण र छिमेकी मुलुक चिनको कोरल्ला नाकासँग समेत जोडिएको र पर्यटन प्रवद्र्धनका हिसावले प्रशस्त सम्भावना बोकेको क्षेत्रलाई पोखरासँग प्रत्यक्ष जोड्नका लागि पर्वत उद्योग बािणज्य संघको पहलमा यस अघि पनि छलफल र बहस हुँदै आएको थियो भने मन्त्रालयमा ध्यानाकर्षण पत्र समेत बुझाईएको थियो ।
प्रदेश तथा पर्यटनको राजधानी पोखरासँग पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई सिधा जोड्न सकियो भने राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यापार प्रर्वद्धन मात्र होइन, ढुवानी र समयको समेत बचत हुने र ओझेलमा परेको धौलागिरीमा नै आर्थिक क्रान्तिको ढोका खुल्न सक्ने भएकाले उक्त कार्य आवश्यक देखिएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले बताउनुभयो ।
दुरीका हिसावले पर्वतको कुश्मादेखि पोखरासम्म ५८ किलोमिटर रहेको छ । अब निर्माण हुने नयाँपुल–हेम्जाको दुरी झण्डै ४० किलोमिटर रहेको छ । तर सुरुङमार्ग निर्माणपछि सात किलोमिटरको दुरीमा जोडिने भएको छ ।
उक्त सुरुङमार्ग निर्माणपछि पोखरामा दिनहुँ भित्रिने हजारौं पर्यटकलाई आकर्षण गर्न सकिने भएकाले, भारत र चीनको व्यापारिक रुटको रुपमा रहेको कालीगण्डकी करीडोरसँग सिधा सम्पर्क राख्न सकिने र धार्मिक महत्व बोकेको मुक्तिनाथसँग पोखरालाई जोड्न तथा कालीगण्डकी जलयात्राको लागि पर्यटकहरुलाई भित्रयाउन सहज हुने भएकाले उक्त सुरुङमार्ग अत्यावश्यक भएको प्रतिनिधि सभा सदस्य पदम गिरीले बताउनुभयो ।






