पर्वत– नेकपा एमालेले देशव्यापी रुपमा आब्हान गरेको जागरण सभा पर्वतमा पनि सम्पन्न भएको छ । गाउँगाउँवाट आएका नेता तथा कार्यकर्ताहरुको जुलुसले कुश्माबजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटिका उपसचिब मञ्जु अधिकारीले चिहानघाटमा पुगिसकेको राजतन्त्र फर्किन्छ भन्नु सपनामात्र भएको बताउनुभयो । कतिपय असम्भव कुराहरु सपनामा मात्र देखिन्छन अधिकारीले भन्नुभयो त्यस्तै राजतन्त्र पनि अब सपनामा मात्र फर्किएला विपनामा होईन । उहाँले मुलुकको अहिलेको जनमत भड्काउनका लागि राजतन्त्र फर्काउने हल्ला फिजाईएको भन्दै यसमा ज्ञानेन्द्र शाहले देखाएको सक्रियताले पार नपाउने बताउनुभयो ।

नेतृ अधिकारीले गत १५ गतेको हिंसात्मक आन्दोलनको स्वरुपले झनै बितृष्णा बढ्दै गएको भन्दै अब राजनीतिक दलको अर्को बिकल्प सोच्नै नसकिने बताउनुभयो । उहाँले दलहरु एकजुट भएर राजतन्त्रलाई निष्तेज पार्नुपर्नेमा जोड दिनुभएको छ ।
लामो समयदेखिको क्रान्ति, त्याग र बलिदानवाट प्राप्त उपलव्धिलाई संस्थागत गर्न नदिने तत्वहरु सक्रिय भएको उहाँको भनाई छ ।
कार्यक्रममा गण्डकी प्रदेश सचिबालय सदस्य शान्त पौडेलले यो मुलुकलाई पछाडी धकेल्न कुनैपनि जनता तयार नभएको बताउँदै मुलुकमा हिंसात्मक द्धन्द्ध निम्त्याउन खोज्ने ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गर्नुपर्ने बताउनुभयो । पिंजडामा सिमीत भएको राजा अब बाहरी संस्सारमा आउने दुस्साहस नगर्न चेतावनी दिनुभयो ।

नेकपा एमाले पर्वतका अध्यक्ष गोबिन्द पहाडीको अध्यक्षतामा सम्पन्न जागरण सभामा स्वागत उपाध्यक्ष बिमल लामिछाने र संचालन जिल्ला सचिब सुवासचन्द्र पौडेलले गर्नुभएको थियो । उहाँहरुले मुलुकमा अराजकता मच्चाउन कुनैपनि तत्वलाई राज्यले कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।






