पत्रकार हत्याका दोषीलाई कारबाहीको माग गर्दै महासंघ पर्वतद्धारा ध्यानाकर्षण पत्र पेश - News site from Nepal

पर्वत– काठमाडौंको तीनकुनेमा गत शुक्रवार भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएकोप्रति गम्भीर हुँदै नेपाल पत्रकार महासंघ पर्वतले प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण पत्र पेश गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेलाई पत्र हस्तान्तरण गर्नुभएको हो ।

भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको, अन्नपूर्ण पोष्ट दैनिक, कान्तिपुर टेलिभिजन, हिमालयन टेलिभिजन, पत्रकार दिनेश गौतम र निरज तामाङमाथि भएको आक्रमणको विरुद्ध घोर निन्दा व्यक्त गर्दै दोषीलाई कडा भन्दा कडा सजायको माग गरिएको छ ।
पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा र सचिब साजन परियारद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न र मृतकको परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ । यस्तै सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्‍याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन समेत माग गरिएको छ ।
ध्यानाकर्षण पत्रमा विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन समेत माग गरिएको छ । महासंघले राखेका माग एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण नभएमा सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने समेत महासंघले चेतावनी दिएको छ ।

सो अवसरमा प्रजिअ घिमीरेले उक्त ध्यानाकर्षण पत्र तत्काल सम्बन्धित निकायमा पेश गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!